Logo

नौ लाखको योजनामा चार लाख घुस



दोलखा, ७ असोज । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका तत्कालीन प्रमुख र प्राविधिकले ९ लाखबराबरको काम सम्पन्न सिँचाइ योजनामा ४ लाख रुपैयाँ घुस लिएको खुलेको छ।

सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका प्रमुख प्रकाश अधिकारी र सव इन्जिनियर सुधिर कुमार शाहले कालिञ्चोक गाउँस्थित सिरम्फु सिँचाइ योजनाको काम सम्पन्न गरेपछि उपभोक्ता समितिका पदाधिकारीबाट ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अधिकारी साउन पहिलो साता जिल्लाबाट राजधानी जाँदै गर्दा घुसको रकमसहित पक्राउ परेका थिए। स्रोत नखुलेको सो रकमसहित पक्राउ परेका अधिकारीलाई २ महिना लामो अनुसन्धानपछि अख्तियारले असोज १ गते बिगो दाबीका साथै कार्यालयको गलत लिखत तयार पारेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियार स्रोतका अनुसार अनुसन्धानका क्रममा कालिञ्चोक गाउँपालिका–१ को सिरम्फु सिँचाइ आयोजनामा लागत सहभागिताअन्तर्गत उपभोक्ता समितिलाई दिइएको काम सम्पन्न गर्न गत असारमा ९ लाख रुपैयाँको बिल बनाएबापत उनीहरूले उपभोक्ता समितिका अध्यक्ष धनवीर थामी र सचिव जितबहादुर तामाङबाट घुस लिएका थिए।

थामी र तामाङले अख्तियारसमक्ष घुस दिएको बयान दिएपछि उनीहरूले ९ लाख रुपैयाँको काम गर्दा ४ लाख रुपैयाँ घुस लिएको खुलेको हो। आजको नागरिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्