Logo

साकार हुँदै थानकोट–नागढुङगा सुरुङ्गमार्ग



काठमाडौं, ७ असोज । अब थानकोट–नागढुङगा सुरुङ्गमार्गको सपना पुरा हुने भएको छ । हाज्मा एन्डो कर्पाेरेसनले सुरुङ्गमार्गको ठेक्का पाएपछि काम अगाडि बढ्ने भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा र निर्माणको जिम्मा पाएको हाज्माबिच सोमबार निर्माण सम्झौता भईसकेको छ ।

ललितपुरस्थित महाशाखाको कार्यालयमा विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा एन्डो कर्पाेरेसनबीच सम्झौता भएको हो । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको उक्त सुरुङ्गमार्ग अबको ४२ महिनाभित्र सम्पन्न हुनेछ ।

करसहित करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको सो सुरुङ्गमार्गको निमार्ण करबाहेक साढे १३ अर्ब रुपियाँमा सम्झौता भएको हो । कुल लम्बाइ २.७ किलोमिटर र चौडाई साढे नौ मिटरको हुने यस सुरुङ्गमार्गको बीचमा डेढ मिटर चौडाईको “मेडियन” र आधा आधा मिटरको दुईवटा “सोल्डर” निर्माण गरिने छ । सुरुङ्गमार्गको निर्माण उच्चतम् प्रविधिको प्रयोगले कामदारको सट्टा “मेसिन बेस” को प्रयोग गरेर गरिने जनाइएको छ ।

सुरुङ्गमार्गको प्रवेशद्धार नजिकै “मेन्टिनेन्स बिल्डिङ”, ट्राफिक अनुगमन प्रणाली जडान गरिनुकासाथै सुरुङ्गमार्गको प्रवेशमार्गसम्म पुग्न दुईवटा “फ्लाई ओभर” निर्माण गर्नुका साथै सातवटा पुल र एघारवटा बक्स कल्भर्ट निर्माण गरिने छ ।

सुरुङ्गमार्ग निर्माणका लागि सन् २०१५ मा जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको प्रारम्भिक अध्ययनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१८ मा तयार पारिएको हो । त्यसैगरी सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको शून्य दशमलव ०१ प्रतिशत व्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी ऋण सम्झौता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्