काठमाडौं, ८ असोज । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रबारे मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा अर्थतन्त्रका केही सूचकमा सुधारका संकेत देखिएका हुन्।
बैंकका अनुसार विगतमा नराम्रो सूचकमा रहेको आयात अहिले घटेको छ भने शोधनान्तर स्थिति बचतमा गएको छ। बैंकको प्रतिवेदन अनुसार गत साउनमा आयात पोहोर साउनको तुलनामा ११।५ प्रतिशतले घटेको छ।चालु खाता घाटा कम भएको र महँगी दर भने पोहोरको तुलनामा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।
साउनमा १०६ अर्ब ७३ करोडको सामान विदेशबाट आयात भएको छ। गत वर्ष साउनमा आयात ५४।३ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४।५ प्रतिशत र ४१।२ प्रतिशतले घटेको छ। चीनबाट हुने आयात भने २४।० प्रतिशतले बढेको छ।
वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोसाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ। हवाई जहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायत वस्तुको आयात घटेको छ। आजको नागरिक दैनिकमा खवर छ ।