काठमाडौं १० असोज । हुम्ला, सर्केगाड गाउँपालिकास्थित उनापानी गाउँकी ४५ वर्षीया मैनकला रावतले मुगुबाट खाद्यान्न ओसार्न थालेको १५ वर्ष बढी भयो । उनी हिउँद र चाडपर्वको समयमा खच्चड र चौरी ल्याएर ६ दिन हिडेर चार पटक चामल लिन गमगढी आउँछिन् । उनीमात्र होइन, हुम्लाको खाद्य गोदाममा पर्याप्त चामल नपाइने गरेकाले उनापानीका बासिन्दा एक साता लगाएर गमगढी आइ खाद्यान्न ओसार्छन ।
पर्याप्त चामल नपाउने समस्याले सीमा क्षेत्रका बासिन्दालाई चिनियाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ। ‘गाउँमा चामल पाउन सधैं मुस्किल हुन्छ,’ सिमकोटका राजन बोहोराले भने, ‘सरकारले हामीलाई हवाइ ढुवानीको चामल दिएर वर्षभरिको छापो लगाउनुभन्दा सडक बनाइदिए सस्तोमा चामल किन्न पाउने थियौं।’
उनले ढुवानी रकमबाटै एयरलाइन्सका मालिक झन धनी बने पनि हुम्ली जनतासँग चामल किन्ने पैसा नभएको गुनासो गरे। उनका अनुसार हवाइमार्गबाट ढुवानी भएको चामल हुनेखानेले मात्र खान पाउँछन्।
हवाइमार्गबाट हुम्ला पुगेको उच्च गुणस्तरको ३० किलो चामलको मूल्य ६ हजार रुपैयाँ पर्छ। सुर्खेत र नेपालगन्जबाट ११ हजार ३ सय ९० रुपयाँ प्रतिक्विन्टलका दरले खाद्यान्न ढुवानी हुने गरेको छ। सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा डेढ वर्षमा खाद्यान्न ढुवानीमै २० करोड रुपैयाँ सकिएको छ। वर्षभरि चामल ढुवानी गर्न लाग्ने रकमले दुई वर्षमै जिल्लालाई सडक सञ्जालमा जोड्न सकिने बोहरा बताउँछन्। सडक सुविधा नभएकै कारण हुम्लामा वर्सेनि खाद्यान्न अभावको समस्या हुने गरेको छ।
जहाजमार्फत ढुवानी गरिएको चामलसमेत चाहेको बेला किन्न नपाइने स्थानीय ओमप्रकाश रोकायाले गुनासो गरे। हवाइमार्गभन्दा स्थलमार्गबाट ल्याइएको चामल अढाइ गुणा सस्तो हुने भए हवाइ ढुवानीकै चामल किन्नुपर्ने बाध्यता भएको उनी बताउँछन्। सदरमुकाम सिमकोटमा तारा, गोमा र यती एयरलाइन्सले चामल ढुवानी गरिरहेका छन्। नेपालगन्ज खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गतवर्ष ७ करोड ३१ लाख ६६ हजार र यस वर्ष ३ करोड ४१ लाख रुपैयाँको चामल ढुवानी गरिसकेको जनाएको छ।
नेपालगन्जबाट आर्थिक वर्ष २०७५/७६ मा ६ हजार ७ सय ६० क्विन्टल ढुवानी भएको नेपालगन्ज कार्यालय प्रमुख भरत खनियाँले बताए। त्यस्तै सुर्खेतबाट २०७५/७६ मा ६ हजार ८ सय ८१ क्विन्टल चामल हुम्ला पठाइएको छ। गत वर्ष हवाइ ढुवानी भाडामा ७ करोड १५ लाख ८३ हजार रुपैयाँ खर्च भएको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, सुर्खेतका प्रमुख भिम थापाले बताए।
उनका अनुसार यस वर्ष हवाइ ढुवानीमा ३ करोड ४१ लाख ६० हजार रुपैयाँ खर्च भएको हो। लिमिटेडको हुम्ला कार्यालय प्रमुख भरत बिष्टले पहिलो पटक काडमाडौं–केरुङ तिब्बत हुँदै सिमकोटमा चामल ढुवानी भएको बताए। उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सुर्खेत र नेपालगन्जबाट हवाइ र स्थलमार्गबाट हुम्लाका लागि १४ हजार ८ सय ३१ क्विन्टल चामल हुम्ला पुगेको छ। उनले नेपालगन्जबाट ५ सय २०, सुर्खेतबाट ६ हजार ६ सय ८१, धनगढीबाट स्थलगत ३ सय ४ क्विन्टल चामल हुम्ला पुगेको जनाए।
गत वर्षको ११ हजार ९ सय क्विन्टल चामल बिक्री भइसकेको छ। त्यस्तै चालु आर्थिक वर्षको दुई महिनामा नेपालगन्जबाट १ हजार ६ सय ६० क्विन्टल र सुर्खेतबाट ८ सय ४३ क्विन्टल चामल सिमकोट पुगेको छ। हुम्लामा २ खाद्य डिपो र ४ वितरण केन्द्रमार्फत चामल बिक्री हुने गरेको छ। ‘सिमकोटमा त जसोतसो चामल हुन्छ,’ शाखा प्रमुख बिष्टले भने, ‘अन्य वितरण केन्द्रमा चामल जानबित्तिकै हारलुछ हुन्छ, एक सातामै चामल सकिन्छ।’ उनले दसैं तिहारको लागि स्थलमार्गबाट चामल आइरहेको जानकारी दिए।
सुर्खेतस्थित खाद्यव्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत आर्थिक वर्षमा कर्णालीका विभिन्न जिल्लामा ३६ हजार २ सय २२ क्विन्टल चामल गएको छ। सुर्खेतबाट ३ हजार ७९ क्विन्टल मोटो चामल, ९ हजार ८ सय ५३ क्विन्टल सोना मन्सुली, ४ हजार १ सय ९६ क्विन्टल जिरा मसिनो र २५ हजार ८ सय ७२ क्विन्टल जापानिज चामल विभिन्न जिल्लामा गएको कार्यालयले जनाएको छ। सुर्खेत शाखा प्रमुख थापाका अनुसार डोल्पामा भने गत वर्षकै चामल मौज्जात छ। कान्तिपुरबाट