दुई जुझारु अभिनेत्री रेजिना उप्रेती र विमला केसीले बडा दशैंको शुभ अवसरमा शुभकामना सहित राष्ट्रिय नवदुर्गा सम्मानको आयोजना गर्न लागेका छन् । सम्मानको लागि नौं अभिनेत्रीलाई सम्मान सूचीमा राखिएको छ ।
प्रथम नेपाली चलचित्र “आमा” की प्रथम अभिनेत्री भुवन चन्ददेखि हाँस्य सम्राज्ञी बसुन्धरा भुसाल, वरिष्ट अभिनेत्री गौरी मल्ल, सदावहार सुन्दरी अभिनेत्री करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइँटेल र स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको छ ।
यो सम्मानको आयोजना विशिष्टलाई कदर तथा नयाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एकै मञ्चमा यी विभिन्न कालाखण्डका अभिनेत्रीहरूलाई विभूषित गर्न लागिएको जनाइएको छ । सम्मान सहित राखिएको वृहत् सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भीर विष्ट, गजित विष्ट, पवित्रा आचार्य लगायतका कलाकार रहेका छन् । नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहने छन् ।