काठमाडौं,१२ असोज । नेपालीहरुको महान चाड बडादशैं आजबाट सुरु भएको छ । आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौं,गहुँ,मकै छरेर जमरा राखी घटस्थापना गरिदैंछ ।
आजकै दिनदेखि नवरात्र मेला पनि सुरु हुने भएकाले नौं दिन नै पायक परेका शक्तिपीठमा पूजाअर्चना, दुर्गा स्तोत्र र चण्डीपाठ पारायण गरेर दुर्गा भवानीको आराधना गरिन्छ । पहिलो दिन शैलपुत्री,दोस्रो दिन ब्रह्मचारिणी र क्रमिक रुपमा चन्द्रघण्टा,कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धदात्री गरी यी नौ दुर्गाको उपासना गरिन्छ । भगवान रामले रावणमाथि विजय प्राप्त गरेको घटना प्रसंग यो बडादशैंसँग रहेको छ ।
हेटौंडाको भुटनदेवी, ललितपुरको पूर्णचण्डी, काभ्रेपलाञ्चोक नालाको उग्रचण्डी, गोरखाको मनकामना लगायत मुलुकका सबै शक्तिपीठमा देवीको उपासना हुन्छ । काडमाडौंमा नक्साल भगवती, रक्तकाली, नरदेवी, कालिकास्थान, मैतीदेवी, भद्रकाली, शोभा भगवती, पशुपति क्षेत्रको भङ्केश्वरी, गुह्येश्वरी, भुवनेश्वरी लगायतका शक्तिपीठमा घटस्थापना गरेर देवीको आराधना गरिदैंछ ।
साउन महिनामा बौद्ध विहारमा परिक्रमा गरी मनाइने गुँला पर्व समाप्त भई एक महिनासम्म शक्तिपीठ र देवस्थल परिक्रमा गरी मनाइने यँला शनिवारदेखि नौैरात शक्तिपीठ परिक्रमा गरिने नवरात्र मेला सुरु भएको छ । उपत्यकाका नेवार समुदायमा बाजागाजा सहित नवरात्र मेला परिक्रमा गर्ने तयारी भएको छ । -गोरखापत्रवाट