रसुवा, १४ असोज । चीनको केरुङमा मंगलबारदेखि रेडिमेड सामग्रीमा सिल नहुने भएको छ। चीनमा एक साता सार्वजनिक बिदा परेकाले सिल नहुने भएको हो।
स्याउमा भने अक्टोबर ३ तारिखसम्म सिल हुनेछ। मंगलबारदेखि सवारी साधनमा सिल नहुने भएपछि त्यहाँ रहेका नेपाली घर फर्कन थालेका छन्। एक सातासम्म बिदा भएपछि काम नहुने र दसैं सुरु भएकाले व्यापारी तथा व्यवसायी घर फर्कन थालेका हुन्।
सोमबार करिब एक सय ३० वटा गाडीमा सिल लगाइएको छ। सिल भएका मालबाहक कन्टेनर नियमित रूपमा नेपाल आउने छन्। चिनियाँ भन्सार तथा अध्यागमन एक सातासम्म बन्द हुने भएकाले नेपाली घर फर्कन थालेको व्यवसायी पुरुषोत्तम पौडेलले बताए।
उनका अनुसार अब दसैं मानेर मात्रै नेपाली काममा फर्कने छन्। दसैंका लागि आवश्यक सामग्री लोड भइसकेकाले ती सामग्री नियमित रूपमा आउने उनको भनाइ छ। दसैं तथा तिहारका लागि राखिएकामध्ये ९५ प्रतिशत सामग्री लोड हुनुका साथै नेपालसमेत आइसकेका छन्।
चीनको केरुङमा २७ वटा गोदाम सञ्चालनमा छन्। त्यहाँ लाखेमा, मुसा, जय श्रीरामा, मनकामना, जिम्बाब, डाडो, काडु, साइनो नेपाल र जय लक्ष्मीलगायत ट्रान्सपोर्टका गोदाम छन्।हिमनाथ देवकोटाले आजको नागरिक दैनिकमा समाचार लेखेका छन् ।