झापा, १४ असोज । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई घोषित भएका छन् । पुरुषतर्फ उमेशले एक थान मोटरसाइकल र महिला तर्फ एस्तरले एक थान स्कुटर प्राप्त गरिन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् ।
मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनकै राम दाहाललाई पछि पार्दै उमेशले अवार्ड जितेका हुन् । उमेश साउथ एसियन च्याम्पियन हुन् । त्यसै गरी महिला तर्फ मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिबलकी बिनिता बुढाथोकीलाई पछि पार्दै एस्तरले अवार्ड जितेकी हुन् । एस्तर एकेएफ क्याडेट च्याम्पियन हुन् ।
विर्तामोडमा सोमबार साझ आयोजना भएको अवार्ड वितरण कार्यक्रममा एस्तर स्वयंम उपस्थित भई आफ्नो अवार्ड लिएकी थिईन । उमेश रोजगारका शिलशिलामा कुवेतमा रहेका कारण उनको अवार्ड बुबाले लिएका थिए । यसैगरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन् । युवा वर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र करातेका प्रशिक्षक योगेश राईलाई पछाडि पारे । खड्काले नगद २५ हजार रुपैयाँ हात पारे । पिपुल्स च्वाइजको अवार्ड भने फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेशविक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विभिन्न सामाजिक ब्यक्तित्व तथा संघ÷संस्थालाई पनि आयोजक समितिका अध्यक्ष हिमालचन्द्र खरेलले मायाको चिनो प्रदान गरेका थिए । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।