Logo

प्याजको मूल्य अझै बढ्न सक्ने



काठमाडौं, १५ असोज । भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य अझै बढ्ने देखिएको छ । नेपालमा प्याजको भण्डार दश दिन भन्दाबढी नरहेकोले मूल्य एक सय ५० रुपैयाँ पुगेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाली बजारमा प्याजको मूल्य एक्कासी बढेपछि कालिमाटिस्थित प्याजको गोदामको आकस्मिक अनुगमन गरिएको छ । विभागको अनुगमन टोलीले सोमबार कालिमाटिस्थित प्याज भण्डार गरिएको गोदाममा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा आइतबारको तुलनामा सोमबार प्याजको मूल्य बढाएर बिक्री गरेको भेटिएको छ । विभागले ती प्याज व्यापारीको नाम भने गोप्य राखेको छ । व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढायर बिक्री गरिएको हो वा खरिद मूल्य नै बढी परेको हो भन्ने अनुसन्धानबाट प्रष्ट हुने जनाएको छ ।

अनुगमन टोलीले खरिद, बिक्री तथा मौज्दात विवरणसहित ती व्यापारीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । अस्वभाविक रुपमा प्याजको मूल्य बढेपछि जनजिवन प्रभावित भएको खवर सार्वजनिक भएपछि विभागको टोली अनुगमनमा निस्केको थियो ।

अनुगमनको क्रममा व्यापारीले अवरोध गर्ने आशंकामा विभागको टोली ठूलो मात्रामा सुरक्षाकर्मी लिएर कालिमाटीस्थित तरकारी बजार पुगेकोे थियो । नेपालमा खपत हुने परिणामध्ये झण्डै ९८ प्रतिशत भारतका नासिक, कानपुर, इन्दौर, लखनउ र सिमलालगायत स्थानबाट प्याज आयात हुने गरेको छ । आजको गार्खापत्रमा सीता शर्माले खवर लेखेकी छन् ।



प्रतिक्रिया दिनुहोस्