Logo

काठमाडौंमा कांग्रेस नेताहरुले यसरी सम्झिए गान्धीलाई, कसले के भने ? (तस्विरसहित)



काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धी गाउँलाई प्राथमिकतामा राखेर विकास गर्नुपर्छ भन्ने विकेन्द्रीकरणको पहिलो प्रवक्ता भएको बताएका छन् ।

एक सय ५०औँ गान्धी जयन्ती तथा अन्तर्रा्ष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंको अनुपम फुडल्याण्डमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आज गाउँमा सुविधा नपाएर शहरमा जनसङ्ख्याको चाप बढेको उल्लेख गर्दै यसबारेमा गान्धीको दूरदर्शी विचार रहेको बताए । आन्दोलनका क्रममा गान्धीले चर्खाबाट आफैँ कपडा उत्पादन गरी अङ्ग्रेजले उत्पादन गरेका कपडा बहिष्कार गरेको र शान्ति तथा अहिंसाकै माध्यमबाट शक्तिशाली अङ्ग्रेज शासकलाई भारतबाट हटाउन सफल भएको प्रसङ्गसमेत सभापति देउवाले उल्लेख गरे ।

कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीले मानव हृदयलाई प्रभावमा पारेर समाजमा परिवर्तन ल्याउन सफल भएको र विश्वलाई शान्तिको पथमा हिँड्ने प्रेरणा दिएको उल्लेख गरे । उनले काङ्ग्रेसले शान्ति र अहिंसाकै माध्यमबाटै माओवादीको सशस्त्र द्वन्द्वको समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालमा अहिलेको राजनीतिक उपलब्धि पनि शान्ति र अहिंसाकै माध्यमबाट प्राप्त भएको बताउँदै प्राप्त उपलब्धिमाथि देखिएका खतराको सामना गर्न सम्पूर्ण नेपाली जनता जागरुक हुनुपर्ने धारणा व्यक्त गरे ।

काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आजको विश्व राजनीतिमा गान्धीको प्रेरणाको महत्व थप बढेको चर्चा गरे ।

भारतीय काङ्ग्रेसका नेता एवं भारतका पूर्वविदेशमन्त्री सलमान खुर्शिदले गान्धीले कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ ठूलो निर्णय लिन सफल भएको चर्चा गर्दै शान्तिबिना विकास नहुने बताए ।

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोनकर शास्त्रीले नेपालमा ‘सी पथ’ को बहसबारे टिप्पणी गर्दै ‘सी पथ’ ले नेपालमा ठूला भवनको निर्माण भए पनि मानव विकास र मानवताका लागि भने ‘जी पथ’ अर्थात् गान्धी पथ नै आवश्यक पर्ने टिप्पणी गरे ।

नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले गान्धी भारतमा जन्मे पनि विश्वका लागि शान्ति र अहिंसाका प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गरे । रासस तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्