काठमाडौं, १५ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले निवर्तमान सभामुख कृष्णबहादुर महरा र संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही प्रकरणबारे मुख खोलेका छन् । उनले आज (बुधबार) आफ्नो फेशबुकमा एक स्टाटस लेख्दै सत्यक कहिल्यैपनि दुईवटा नहुने भन्दै सत्य सत्य नै हुने बताएका छन् ।
उनले लेखेको स्टाटस यस्तो छ,”गोयबल्स उनै तानाशाह हिटलरका प्रचार मन्त्री थिए जसले एउटा असत्यलाई सय हजार पटक प्रचार गरेर सत्य जस्तो बनाउने प्रयास गर्दथे । क्रान्तिकारीहरु विरुद्व अहिले केही देशीविदेशी गोयबल्सका नयाँ अवतारका रुपमा प्रकट भएका छन्। जसले सत्यको सहारा भन्दा एउटा असत्यलाई हजार पटक प्रचार गरी सत्य बनाउने प्रयास गरिरहेका छन् ।तर सत्य कहिल्यै पनि दुईवटा हुँदैन सत्य सत्य नै हुन्छ।”
त्यतिमात्रै होईन, दीपेशले शाहीले आज प्रहरी कार्यालयमा पुगेर यो प्रकरणमा महराले आफूमाथि कुनै दुव्यर्वहार नगरेको लिखित निवेदन दर्ता गराएको समाचारलाई पनि प्राथमिकताका साथ आफ्नो फेशबुकमार्फत साझा गरेका छन् । उनको पोष्टका आशय हेर्दा यो प्रकरणमा महरालाई फसाईएको उनको विश्वास देखिएको छ ।