Logo

गोबर ग्यास प्रयोगमा जोड



विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ ।

गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो । समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान गरिरहेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा १०० घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासका प्लान्ट जडान गरेको थियो । गोबर ग्यास राख्न अधिकांश कृषकले चासो देखाएपछि चालू आर्थिक वर्षमा पनि नगरपालिकाले थप २०० घरमा निःशुल्क गोबर ग्यासका प्लान्ट निर्माणको काम शुरु गरेको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

विर्तामोड नगरपालिका–४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा इजराइली मोडलको होमवायो ग्यासको प्लान्ट जडान कार्यको उद्घाटन गर्नुहुँदै नगरप्रमुख शिवाकोटीले पशुपालन गर्ने कृषकका लागि नगरपालिकाले गोबर ग्यास जडान गर्न विशेष पहल गरेको र पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गरेको बताए । पशुपालन व्यवसायको प्रवद्र्धनका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले बताए ।उनले भने , “अब किन चाहियो सिलिण्डर ग्यास, नगरपालिकाले नै पशुपालन गर्न अनुदान दिन्छ, त्यही पशुले गोबर दिन्छ, त्यही पशुको गोबरबाट ग्यास प्रयोग गर्न सकिन्छ, गोबर ग्यासका प्लान्ट पनि नगरपालिकाले घर–घरमा खोजीखोजी जडान गरिरहेको छ ।”

नेपाल वायोग्यास प्रवद्र्धन सङ्घ प्रदेश नं १ ले विर्तामोड नगरपालिकामा पहिलो पटक इजरायली मोडलको वायोग्यास जडान शुरु गरेको छ नगरप्रमुख शिवाकोटीले भने , “यसका लागि नगरको सहयोग छ, यो नयाँ प्रविधिको गोबर ग्यास जडान एकै दिनमा गर्न सकिने रहेछ, अब किन चाहियो सिलिण्डर ग्यास । पशुपालन गर्नुहोस् घर–घरमा नगरपालिकाले यस्तै प्रविधिको गोबर ग्यास निःशुल्क जडान गरिदिन्छ उनको भनाइ छ ।

सात घनमिटरको गोबर ग्यास प्लान्ट नेपालका लागि पहिलो हुने र १५ वर्षसम्म यसको वारेन्टी रहने भन्दै नेपाल वायोग्यास प्रवद्र्धन सङ्घ प्रदेश नं १ का सचिव तथा लोककल्याण गोबर ग्यास कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्तोष उप्रेतीले दुई घण्टामै यो प्लान्ट जडान गर्न सकिने र यो प्रविधिले कृषकलाई अन्य ग्यासको तुलनामा विशेष फाइदा पुग्ने बताए ।

उनले यो प्लान्ट जडान गर्दा खाल्डो खनिरहनुनपर्ने र व्यागजस्तै जमीनमाथि नै राख्न सकिने बताउनुभयो । रु २० हजारमै यो प्लान्ट जडान गर्न सकिने र एकपटक गोबर भरेपछि चार घण्टासम्म नियमित ग्यास चलाउन सकिने उप्रेतीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्