हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । विसं २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुपर्यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो ।
विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि भण्डारी दाजुभाइ अब्बल बनिसकेका छन् । माछापालनबाट रु ५० लाखसम्म आम्दानी गरिरहेका उनीहरुले माछापालनका लागि भण्डारी ‘रेन्बो ट्राउट रिर्सच सेन्टर’ नै खोलिसकेका छन् । “यहाँ वार्षिक दुई लाख भुरा उत्पादन हुन्छ, माछापालनबारे सिक्न आउने गर्छन्’ उत्तममणि भण्डारीले भने , “बजारयोग्य माछाका लागि दुई वर्षको समय कुर्नुपर्ने हुन्छ ।” पाँच रोपनी जग्गा पोखरी बनाएर गरिएको माछापालनमा वार्षिक १० टनसम्म माछा उत्पादन हुने गरेको भण्डारीले बताए ।
“गएको वर्ष ७० लाख बराबरको माछा बिक्री गरियो”, उत्तममणिले भने । शुरु गर्दा भालेपोथी छनोट, अण्डा निर्चोने, ‘स्पोन’ सङ्कलनजस्ता धेरै चरण पार गरिसकेपछि मात्रै माछालाई सुरक्षित भुरा बनाउन सकिने भण्डारीले बताए ।
“माछा मर्नुको प्रमुख कारण ढुसी र अयोग्य पानीले गर्दा हो”, उहाँले भन्नुभयो । त्यसैले प्लान फिल्टर राखेर माछालाई स्वथ्यकर राखिन्छ । ‘एका’, ‘एभिलेन्स,’ ‘फिङ्गरलेन्स’ हुँदै एउटा अण्डारुपी माछालाई प्वाँखले फिट्ने गरिन्छ । दुई, हप्तामा अण्डा निचोरिसकेपछि केलाएर राखिन्छ । ‘आइडेग’ र ढुसीलाई पन्छाएर तीन हप्तापिच्छै जाँच गरेर बल्ल १२-१८ महीनाको कुराइपछि माछाले भुराको रुप लिन्छ ।
“प्रत्येक कात्तिक महीनामा सूचि बनाएर काम गर्ने गर्छौं”, किउलमा दुई वर्षदेखि ‘ट्राउट’ माछापालन गरिरहेकी माया तामाङले भन्नुभयो । परिपक्व भएका माछा र अन्यलाई गणनात्मकरुपमा अलग छुट्याइने गरिएको उनले भने , “यहाँ उत्पादित माछा यहीका रिसोर्ट, होटेलदेखि राजधानीसम्म पुग्ने गर्छ ।” माछाबाट वार्षिक रु ३० लाख आम्दानी हुने भएपछि उत्साहकासाथ जुटिरहेको मायाको भनाइ थियो ।
माछालाई स्वस्थ्य राख्नका लागि नूनपानीको घोल बनाएर खुवाइने गरिएको छ । जसले बजारमा लैजान नबनेसम्म फुर्तिलो बनाइराखोस् भन्ने लक्ष्य हुन्छ । ट्राउट माछाको माग बजारमा सधै बढिरहने भएपछि भण्डारी र मायाजस्ता उद्यमी हेलम्बुभर भेटिन थालेका छन् । अन्यभन्दा राम्रो आम्दानी हुने भएपछि माछापालनप्रति कृषकको आकर्षण बढ्दो छ ।
जिल्लाको भोटेकोशी गाउँपालिकाको तातोपानीदेखि हेलम्बु, मेलम्ची नगरक्षेत्रमा व्यावसायिकरुपमा ‘रेन्बो ट्राउट’ माछापालन हुने गरेको छ । जिल्लाभर १० वटा ट्राउट माछा फार्म रहेको र त्यसले वार्षिक १६ टनसम्म माछा उत्पादन गर्ने गरेको तथ्याङ्क छ ।