Logo

सरकारी खर्च घटाउन स्वीडेनका राजाले पाँच नातिनातिनालाई दरबारबाट हटाए



स्वीडेनका राजा कार्ल १६ औं आफ्नै नातिनातिनालाई दरबारबाट हटाएका छन् । दरबारका लागि सरकारी खर्च बढेको भन्दै उनले ती पाँच नातिनातिनालाई दरबारबाट हटाएका हुन् ।

अब उनीहरुलाई सरकारले राजपरिवारको सदस्यका रुपमा खर्च गर्नेछैन । स्वीडेन सरकारले राजपरिवारको सदस्यका रुपमा दिदै आएको सेवा सुविधा र तलब दिनेछैन । उनीहरुलाई सर्वसाधारणले पाउने सुविधा मात्र दिइनेछ ।

स्वीडेनको दरबारले सोमबार एक विज्ञप्ति जारी गरी पाँच जना नातिनातिनालाई दरबार बाहिर पठाएको उल्लेख गरेको छ । अब दरबार बाहिर बस्नुपर्नेमा राजकुमार कार्ल फिलिपका छोराहरु र राजकुमारी मडेलिनका सन्तानहरु छन् । उनीहरुका माता पिताले भने दरबारका सदस्यका रुपमा पाउने सेवा सुविधा पाउनेछन् । तर, कम उमेरका छोराछोरी दरबार बाहिर पठाइएपछि उनीहरुलाई पनि बाहिर बस्नुपर्ने वाध्यता परेको छ ।

राजा कार्ल १६ औंले दुई नातिनातिनालाई भने दरबारमै राखेका छन् । उनीहरु स्वीडेनको राजगद्दीको उत्तराधिकारीको लाइनमा छन् ।
दरबारका सदस्य बढ्दै गएको र स्वीडेन सरकारले दरबारका सदस्यहरुलाई दिने सेवा सुविधाका कारण खर्च बढेको विषय आइरहँदा राजाले महत्वपूर्ण निर्णय लिएका हुन् । यसले उनको लोकप्रीयता बढाएको छ ।

अब उनीहरुले सर्वसाधारणको जस्तो जीवनयापन गर्नुपर्छ । दरबारको औपचारिक जीवनबाट मुक्त भएका छन् । राजदरबारको पदवी रहने र कार्यक्रमहरुमा भने सहभागी हुन पाउनेछन् । तर, भविष्यमा आफै काम गरेर जीविकोपार्जन गर्नुपर्छ ।

संसारभरका कतिपय राजपरिवार सुविधाभोगी भइरहेको विषय बाहिर आइरहँदा स्वीडेनका राजाले आफ्नै नातिनातिलाई दरबारबाहिर पठाएर चर्चा बटुलेका छन् । स्वीडेनमा राजाप्रति विशेष सम्मान छ । त्यहाँ राजसंस्था सबैको प्रीय हुनुमा जनचाहना बुझ्ने र त्यस अनुरुपको व्यवहार गर्नु हो ।-एजेन्सी  Photo Source: Agencies



प्रतिक्रिया दिनुहोस्