काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणको क्रममा नेपाल र चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २० समझदारी पत्रमा हस्ताक्षर भएको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार बिहान होटल सोल्टीमा विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्झौता र समझदारी पत्रमा आदानप्रदान गरिएको हो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट गरेका छन्।
दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ। त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ। त्यस्तै, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ। त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ।
नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ।
प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी थिए भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत थिए ।