काठमाडौं, २८ असोज । विगत वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको मात्रामा कमी आउने भएको छ। पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गर्नेको संख्या बढेको र यस वर्ष ठीक समयमै तिहार परेकाले आयात गरिने फूलको मात्रामा कमी आउने भएको हो। गत वर्ष भारतबाट ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो।
यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै आयात गरिनने फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। गत वर्ष १७ लाख माला खपत भएको थियो।
सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो। बाँकी स्वदेशी उत्पादन हो। तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ। यस वर्ष पनि गत वर्षकै हाराहारीमा माला खपत हुने एसोसिएसनको अनुमान छ।
व्यावसायिक फूलखेती गर्नेको संख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। फूल उत्पादन बढेसँगै उपभोक्ताको माग पनि बढेको छ। यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ।
स्वदेश र विदेशमा गरी वार्षिक रूपमा एक अर्ब ८५ करोडको फूलको कारोवार हुँदा तिहारमा मात्रै एक करोड फूलको कारोबार हुन्छ। तिहार आउनुभन्दा एक साताअघिबाट मात्रै फूल आयात सुरु गरिन्छ। आजको नागरिक दैनिकमा खवर छ ।