काठमाडौं, ३० असोज।जस्मिन पेन्ट्स प्रालिद्वारा उत्पादित रंगमा अत्यधिक लिड प्रयोग भएको विज्ञ र उपभोक्ताको गुनासो छ भने उत्पादक कम्पनी र गुणस्तर विभागले लिडको प्रयोग सार्वजनिक महत्वको विषय नै नभएको र विगतका समस्यामा सुधार गरिएको दाबी गरेका छन्।
वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार लिडको मात्रा ९० पीपीएम मात्र हुनुपर्दछ। तर, जस्मिन पेन्ट्समा ३६०० पीपीएम पाइएको छ।
जस्मिन पेन्ट्स प्रालिद्वारा उत्पादित पेन्ट्सको क्यालिब्रेसन, अभिलेखन र तौलमा कमी–कमजोरी रहेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमनमा फेला परेको थियो। जस्मिन पेन्ट्सको उत्पादनमा कमी–कमजोरी भेटिए पनि स्पष्टीकरण सोध्नेबाहेक ठोस कारबाही भने भएको छैन।
उपभोक्ता अधिकारकर्मीले जस्मिन पेन्ट्सले कानुनलाई चुनौती दिँदै उपभोक्ता ठगी गरेकाले कारबाही हुनुपर्ने बताउँछन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्नुहुन्छ– ‘राजपत्रमा प्रकाशित मापदण्ड जोसुकैले पनि परिपालना गर्नुुपर्छ। वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार लिडको मात्रा ९० पीपीएम मात्र हुनुपर्दछ।
तर, जस्मिन पेन्ट्समा ३६०० पीपीएम पाइएको र तौल पनि भनिएभन्दा कम हुने गरेको थाहा भएको छ। लिड मानव स्वास्थ्यसँंग जोडिएको कुरा हो। नापतौल तथा गुणस्तर विभाग र उपभोक्ता संरक्षण ऐनको कानुनी प्रावधानअनुरूप उत्पादकलाई कारबाही हुनुपर्दछ।’
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिसिनाले पनि जस्मिन पेन्ट्सलाई छुट दिन नहुने धारणा राख्नुहुन्छ।आजको नेपाल समाचार पत्रमा डीबी बुढाथोकीले खवर लेखेका छन् ।