काठमाडौं, २ कात्तिक । राष्ट्रिय चिकित्साशिक्षा आयोगले यस शैक्षिक सत्रका लागि एमबिबिएस र बिडिएस अध्ययनको शुल्क निर्धारण गरेको छ ।
आयोगले गत वर्ष मन्त्रिपरिषद्ले निर्धारण गरेको शुल्कमा ४ दशमलव ५ प्रतिशतले वृद्धि गरी नयाँ शुल्क निर्धारण गरेको हो । अशोज ३० गते तय गरेको शुल्क निर्धारण सम्बन्धी निर्णय कात्तिक १ गते शुक्रबार सार्वजनिक गरेको हो ।
नयाँ शुल्कअनुसार काठमाडौं उपत्यकाभित्रका विद्यार्थीले अब एमबिबिएस अध्ययनका लागि कुल ४० लाख २३ हजार २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।
उपत्यकाबाहिरका कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि भने एमबिबिएस अध्ययनबापत कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरिएको छ । बिडिएसतर्फ भने देशभर अध्ययन गर्ने विद्यार्थीका लागि समान शुल्क निर्धारण गरिएको छ । बिडिएसका विद्यर्थीले कुल २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।
नयाँ शुल्कअनुसार काठमाडौं उपत्यकाभित्रका विद्यार्थीले अब एमबिबिएस अध्ययनका लागि १ लाख ७३ हजार २ सय ५० रुपैया बढी तिर्नुपर्नेभो ।
त्यसैगरी उपत्यकाबाहिरका कलेजमा अध्ययन गर्ने विद्यार्थीका लागि भने एमबिबिएस तर्फ १ लाख ५८ हजार ६ सय २५ रुपैया बढी तिर्नुपर्ने भो । साथै बिडिएका लागि ८६ हजार ९ सय ६८ रुपैया बढी तिर्नुपर्ने भएको छ ।
यसअघि आयोग बन्नुअघि मन्त्रिपरिषद्ले एमबिबिएस र बिडिएसका लागि शुल्क निर्धारण गरेको थियो । २८ असोज ०७५ मा निर्धा्रित शुल्कअनुसार एमबिबिएसतर्फ उपत्यकाका लागि ३८ लाख ५० हजार र उपत्यकाबाहिरका लागि ४२ लाख ४५ हजार रुपैयाँ तोकिएको थियो ।
बिडिएसका लागि भने समान १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ तोकिएको थियो ।आजको नेपाल समाचार पत्रमा खवर छ ।