निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रेवश गरेका निर्देशक निश्चल बस्नेत यतीबेला अभिनयमा व्यस्त छन् । “दिमाग खराब” नामकरण गरिएको चलचित्रमा निश्चलले अभिनय गर्ने भएका छन् । ८ कात्र्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “घामड शेरे” को पत्रकार भेटघाट कार्यक्रममा निर्देशक तथा अभिनेता निश्चलले तिहारपछि सिमोस सुनुवारले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न लागेको जनाएका हुन् ।
पहिले पटक निश्चल र अभिनेत्री स्वस्तिमा खड्का चलचित्र “घामड शेरे” बाट अन स्क्रिन रोमान्समा देखिन लागेका हुन् । चलचित्र “दिमाग खराब” मा पनि उनीहरु कै जोडी रहने खुलासा भएको छ । यो चलचित्रलाई निश्चलले नै निर्माण गर्नेछन् ।
तीन वर्ष अगाडि निर्देशक निश्चलले चलचित्र “टलकजंग भर्सेस टुल्के” रिलिजपछि “दिमाग खराब” नाममा चलचित्र बनाउने घोषणा गरेका थिए । उनले चलचित्र विकास बोर्डमा त्यो नाम दर्ता नगरी घोषण गरेको कारण अर्कै कम्पनीले नाम दर्ता गराएपछि उनले ‘लुट २’ बनाए ।
चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म चलचित्र निर्माण भएर प्रदर्शन नभए निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ । र, उक्त नाम अर्को कम्पनीले दर्ता गरेर चलचित्र बनाउन मिल्छ । नाम दर्ता गरेको तीन वर्षसम्म पनि फिल्म नबनेपछि स्वतः निर्माण इजाजत रद्द भयो र निश्चलले आफ्नो ब्यानरमा ‘दिमाग खराब’ दर्ता गरे ।
चलचित्रको कथा तयार पारिसकेका निश्चले नाम दर्ता गर्दा निर्देशकमा आफ्नै नाम राखेपनि कथा चित्त नबुझेपछि उनी चलचित्र निर्देशनबाट पछाडि हटे । उनी अब त्यही चलचित्रमा आफ्नी श्रीमती स्वस्तिमासँग मुख्य भूमिकामा देखिने भएका छन् ।
चलचित्र “लुट २” पछि निर्देशन छाडेर अभिनयमा व्यस्त निश्चल चलचित्रमा अभिनय गर्नु आफ्नो रहर र बाध्यता दुबै भएको जनाउँछन् । “दिमाग खराब” मा काम गरेपछि भने निश्चल चलचित्र निर्देशनमा फर्किने मनस्थितिमा छन् ।