Logo

नागढुंगा–सिस्नेखोलाको सुरुङको काम तिहारपछि, २२ अर्ब रुपैयाँ लगानी



काठमाडौं, ५ कार्तिक । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २२ अर्ब रुपैयाँको लगानीमा आगामी ४२ महिनाभित्र निर्माण सकिने लक्ष्य राखिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँसहितको यो सुरुङमार्ग कुल २ दशमलव ६ सय ८८ किलोमिटर लामो हुनेछ । पहिलोपटक नौबिसे–नागढुंगा सडकखण्डमा दुईवटा फ्लाइओभरसहितको सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

गत ७ असोजमा काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे जोड्ने यस सुरुङमार्ग बनाउने सम्झौता भएको थियो । नागढुंगा–नौबिसे सुरुङमार्ग बनाउन जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र नेपाल सरकारबीच सहमति भएको थियो ।

त्यसबेला हाज्मा–आन्द्रो जेभीका बिजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

निर्माण सुरु भएको ४२ महिनामा सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सो सहमतिमा उल्लेख छ ।यस सुरुङमार्गमा पूर्वी र पश्चिम खण्ड गरी २।८७२ किलोमिटर एप्रोच रोड निर्माण हुनेछ ।

यहाँ सातवटा पुल निर्माण हुनेछ । यसैगरी, ११ वटा बक्स कल्भर्ट निर्माण हुनेछन् भने दस्तुर संकलनका लागि टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमनका लागि नियन्त्रण कक्षलगायतका संरचना पनि सँगै निर्माण हुनेछन् । आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्