दीपेश केसी: जापानका सम्राट नारुहितो आजबाट औपचारिक रुपमा राजगद्दीमा बसेका छन् । ५९ वर्षीय राजा आफ्ना बाबु हिरोहितोले जिवितै छँदा सत्ता हस्तान्तरण गरेपछि राजा बनेका थिए । हिरोहितो त्यस्ता राजा हुन् जसले समय र परिस्थिति अनुरुप राजसंस्थाको परम्परालाई समेत बदले । त्यसैले उनलाई परिवर्तनप्रेमी सम्राट भनियो ।
राजसंस्थाप्रति जापानीहरुमा बढ्दो नकारात्मक भावको अन्त गर्न हिरोहितोको व्यवहारले मुख्य भूमिका खेल्यो । त्यसैले २१ औं शताब्दीमा पनि जापानीहरु आफ्ना सम्राट र राजसंस्थाप्रति प्रेमभाव राख्छन् । यसमा सम्राट हिरोहितोको ठूलो योगदान छ ।
दोस्रो विश्वयुद्ध हुँदा जापानका सम्राट थिए हिरोहितो । शक्तिशाली जापानी साम्राज्य दोस्रो विश्वयुद्धमा पराजित मात्र भएन निकै क्षति व्यहोर्यो । रक्तपातपूर्ण युद्धमा हारपछि सम्राट हिरोहितो जापानको झण्डै १५ सय वर्ष लामो राजसंस्थाका अलोकप्रीय सम्राटमा दर्ज भए । जापानको राजसंस्था डगमगायो । राजसंस्था जोगाउन हम्मे परिरहँदा शक्तिशाली सम्राटको शक्ति कटौती गरेर सेरेमोनियल र धार्मिक कर्मकाण्ड गर्नमा सिमित राखियो । हिरोहितोले शक्तिहीन बनाएको रुचाएका थिएनन् । सन् १९२६ देखि १९८९ सम्म जापानको सम्राट बनेका हिरोहितोमाथि लागेको दाग र दोष मेट्न पुत्र अकिहितोले निकै मिहेनत गर्नुप¥यो । राजसंस्थाप्रति बढेको अलोकप्रीयता घटाउन तत्कालिन युवराज अकिहितोले जापानी जनतामाझ उदारता प्रदर्शन गरिरहे । यस क्रममा उनले धेरै परम्पराहरु तोडेर जनताको मन जित्न सफल भए । जापानी राजसंस्था झन् मजबुत बनाउने श्रेय लिन सफल भए ।
सम्राट भएपछि अकिहितोले सेरेमोनियल किङ हुनुको उदाहरण प्रस्तुत गरे । उनको सकारात्मक र रचनात्मक भूमिका कारण सँसारभर राजाहरुको लोकप्रीयता ओरालो लाग्ने र राजसंस्था ढल्ने क्रम चलिरहँदा जापानीहरुमा राजसंस्थाप्रति जनआस्थामा कमी आएन । अकिहितोले सम्मानित हुने व्यवहार देखाइरहे । राजा र जनताबीचको सामिप्यता बढाउँदै लगे । उनी भन्थे,‘राजपरिवार जनतासँग टाढा रहनुहुँदैन ।’ जापानमा राजालाई भेट्दा निहुरेर सम्मानभाव जनाइन्थ्यो । सम्राट अकिहितोका १२४ औं पुस्तालाई जापानी जनताले झुकेर सम्मानभाव जनाउँदै आएका थिए । अकिहितोले जनतासँग हात मिलाउने परम्पराको शुरुवात गरेका थिए । सम्राटको उदारताबाट जापानीहरुको राजसंस्थाप्रतिको सम्मान झन् बढ्यो । अकिहितो लोकप्रीय सम्राटको स्थान बनाउन सफल भए ।
परम्परा तोड्ने सम्राट
सन् २०१७ को डिसेम्बरमा जापान सरकारले गरेको घोषणाले विश्वको ध्यान खिच्यो । ३० अप्रिल सन् २०१९ मा जापानका सम्राट अकिहितोले सत्ता हस्तान्तरण गर्ने घोषणा थियो त्यो । जापानको १५ सय वर्ष पुरानो राजसंस्थामा कुनैपनि सम्राटले आफू जिउँदै छँदा उत्तराधिकारीलाई सत्ता हस्तान्तरण गरेका थिएनन् । सम्राटको निधनपछि मात्र उत्तराधिकारी गद्दीमा बस्थे । अकिहितोले ३० अप्रिलमा आफ्ना पिताले छाडेर गएको तरबार उत्तराधिकारी ५९ वर्षीय जेठा छोरा नारुहितोलाई दिएर औपचारिक रुपमा सत्ता हस्तान्तरण गर्दैछन् । विश्वभर राजसंस्था अन्त भई गणतन्त्र स्थापित हुँदै गएको सन्दर्भमा जापानको राजसंस्था सम्मानित र एक्काइसौं शताब्दीसम्म सान्दर्भिक हुनुको कारण सम्राटहरुको महत्वपूर्ण निर्णयहरु पनि कारण हो । अकिहितोले परम्परालाई धानेनन् मात्र समय अनुसार परमपरालाई तोडे ।
अकिहितो जापानको इतिहासमा प्रथम सम्राट हुन् जसले सर्वसाधारणलाई विवाह गरे । यसभन्दा अघिका सम्राटहरुले राजघरानाका नजिकको नातासम्बन्ध राख्ने चेली मात्र विवाह गर्ने परम्परा थियो । सन् १९५९ मा व्यापारीकी छोरी सोदा मिचिकोसँग विवाह गरेर सँसारकै ध्यान खिचे । सर्वसाधारणलाई विवाह गरी परिवर्तन आफैबाट शुरु गरेका अकिहितोले चलिआएको परम्परा तोडिदिए । विवाहबाट उनले परिवर्तनकारी सोचलाई व्यवहारमा उतारे । पुरातनवादीहरुले सम्राटको विवाहप्रति असन्तुष्टि जनाएका थिए । तर, विवाहमार्फत् नयाँ पीढीको मन जित्न सके सम्राट अकिहितोले । अर्को मन जित्ने घोषणा थियो सत्ता हस्तान्तरणको निर्णय । सम्राट जीवित छँदै सत्ता हस्तान्तरणका लागि जापान सरकारले कानुन परिवर्तन गर्नुप¥यो । सम्राटले वृद्धावस्था र स्वास्थ्य अवस्थाका कारण जनाउँदै सत्ता हस्तान्तरणका लागि कानुन परिवर्तन गर्न लगाएका थिए ।
स्वस्थ रहुञ्जेल समुन्द्री जीवजन्तुको अध्ययनमा रमाउँथे अकिहितो । देशको राम्रा परम्परा र संस्कृतिलाई निरन्तरता दिन लागिरहे । जापानको परम्परालाई निरन्तरता दिन खेतमा पुगेर धान गोडिरहेका हुन्थे त कहिले धान रोपिरहेका । दोस्रो विश्वयुद्धका बेलामा अकिहितो किशोरावस्थामा पुग्नैलागेका थिए । अमेरिकाले टोकियोमा आक्रमण गर्दा मुश्किलले बाँच्न सफल भए । भावी राजालाई युद्धका बखत टोकियो बाहिर गाउँमा लगिएको थियो । युद्ध सकिएपछि मात्र उनी फर्काइए । २३ डिसेम्बर सन् १९३३ मा जन्मिएका सुगु अकिहितो बाबु हिरोहितोको निधनपछि सन् १९८९ मा सम्राट बन्दा ५६ वर्ष पुगिसकेका थिए । जापानको वर्तमान राजसंस्थाको पहिलो राजा जिम्मुका सन्ततिमध्ये १२५ औं सम्राट हुन् अकिहितो । विश्वकै सबैभन्दा लामो साम शासन गर्ने वंशका सदस्य अकिहितोले जापानमा राजसंस्थाको निरन्तरतालाई कायमै राख्ने जग मजबुत पार्नेगरी युवराज र सम्राट बन्दा कीर्ती छाड्न सके ।
जनप्रीय राजसंस्था
जापानीहरु राजसंस्थाप्रति निकै सम्मान गर्छन् । राजपरिवारका सदस्यहरुबाट सम्मानित हुने भूमिकाका कारण जापानीहरुले सम्मान गरेका हुन् । जापानलाई शक्तिशाली बनाउन देखि औद्योगिकरणतर्फ लम्काउन सम्राटहरुको साहसिक र रणनीतिक भूमिका इतिहासमा अंकित छ । १९ औं शताब्दीको अन्ततिर सम्राट मैजीले जापानलाई औद्योगिकरणतर्फ लगेका थिए । मैजीको जस्तै करिश्मा खोजे जापानी जनताले । करिश्मामयी सम्राटको अभावका बाबजुद मैजीले स्थापित गरेको पद्धति र प्रणालीमा जापान अगाडि बढ्यो । उस्को साम्राज्य एशियामा फैलिइरह्यो । तर, दुईवटा विश्वयुद्धमा जापानले धक्का व्यहोर्दा राजसंस्थाको जग समेत हल्लियो । उक्त जगलाई मजबुत बनाउन अकिहितोले सालिन युवराजका रुपमा आफूलाई जापान भित्र र बाहिर प्रस्तुत गरेका थिए । उनले बाह्य मुलुकको भ्रमण गर्दा समेत शान्तिको सन्देश प्रवाह गरे । अकिहितोले दुईपटक नेपाल भ्रमण गरे । सन् १९६० मा नेपालको पहिलो राजकीय भ्रमण गरेका थिए । अकिहितोको भ्रमण पछि राजा वीरेन्द्र टोकियो विश्वविद्यालयमा अध्ययनका लागि गएका थिए । तत्कालिन युवराज अकिहितो सन् १९७५ मा राजा वीरेन्द्रको राज्यभिषेकमा विशिष्ट अतिथिका रुपमा नेपाल आए ।
युवराज हुँदा देखिनै अकिहितोले जापानको जनतालाई राजपरिवारसँग नजिक बनाउने भूमिकाहरु गर्दै आए । जनताको ढुकढुकीमा बस्ने गरी काम गरे । विश्वयुद्धलाई प्रत्यक्ष देखेभोगेकाले शान्तिको पक्षमा विश्वभर सन्देश प्रवाह गरिरहे । सम्राट र राजपरिवारका सदस्यको भूमिकाका कारण जापानको राजसंस्था डगमगाएन । छिमेकसँग सम्बन्धमा चीसोपन आउँदा द्विपक्षीय नातासम्बन्धको ऐतिहासिक तथ्य उल्लेख गर्थे । कोरियासँग सम्बन्ध चिसिएकोबारे पत्रकारको जिज्ञासामा सन् २००१ मा सम्राट अकिहितोले आठौं शताब्दीका सम्राट कम्मुकी माता सोकु निहोंगु कोरियाली भएको उल्लेख गर्दै कोरियासँग ऐतिहासिक नातासम्बन्ध रहेको भन्दै आफूले कोरियालीलाई नातेदार मानेको कुटनीतिक जवाफ दिएका थिए । शालीन र शिष्ट स्वभावका अकिहितो सकारात्मक आशयका साथ अति कम सार्वजनिक अभिव्यक्ति दिने राष्ट्रप्रमुखमा पर्दछन् । उनले शासनकालभर मात्र दुईवटा टेलिभिजन सन्देश दिएर कम बोलेर धेरै काम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न सफल भए ।
अकिहितोले सायदै बोल्ने सम्राटको परिचय बनाए । आफ्नो ३० वर्ष लामो शासनकालमा अकिहितोले मात्र दुईवटा टेलिभिजन सन्देश दिए । सन् २०११ मा होन्सु टापुमा सुनामीका कारण २० हजार मान्छेको ज्यान जाँदा शोक सन्देश दिएका थिए भने ८ अगष्ट सन् २०१६ मा सत्ता हस्तान्तरणको आशययुक्त सन्देश दिए । पहिलोपल्ट ऐतिहासिक टेलिभिजन सन्देश दिंदा जापानी जनताले कहिले आशा नमार्ने र एक अर्कालाई सहयोग गर्ने अभिव्यक्ति दिएर उत्साह भरेका थिए । दोस्रो टेलिभिजन सन्देशमा स्वास्थ्यका कारण आफूले राष्ट्रप्रमुखमा रुपमा सहजताका साथ कार्यभार पूरा गर्न नसकिरहेको बताएका थिए ।
अकिहितो जापानी जनतामाझ प्रीय छन् । डिसेम्बरको ठण्डीमा उनको जन्मदिन मनाउन हजारौं जापानी भेला हुनेगर्छन् । २३ डिसेम्बर सन् २०१८ मा अकिहितोलाई शुभकामना दिन झण्डै ८३ हजार जापानी सम्राटको दरबार पुगेका थिए । उनले युवराज भएदेखि नै सम्मानित राजसंस्थाको प्रतिनिधिले देखाउनुपर्ने व्यवहार देखाइरहे । त्यसैले उनीप्रति जापानी जनता प्रेमभाव दर्शाउँछन् ।
अकिहितोले आफ्ना छोरा नुहाहितोलाई तरबार हस्तान्तरण गरेर सम्राट पद छाड्दैछन् । ८६ वर्षीय उदार र मनकारी सम्राटको सत्ता हस्तान्तरण विश्व इतिहासमा स्मरणीय दिन बन्दैछ । समय सापेक्ष बन्न सक्नु, जनताको भावनाको सम्मान गर्नसक्नु र सम्राटको सम्मानित पदको प्रतिष्ठा राख्न सक्नु अकिहितोको सफलता मान्न सकिन्छ । सफल युवराज र सम्राटका रुपमा अकिहितोले सम्मानित राजसंस्थाको अभ्यास गरे । सत्ता र शक्ति भोक नभई लोकको सेवामा समर्पणको साधन हो भन्ने सन्देश दिन सके । कुनैपनि राज्य प्रणाली त्यसको अगुवाको अभ्यासबाट मजबुत हुनसक्छ । आवश्यक पर्दा परम्परा तोड्ने, जनतालाई जोड्ने र त्याग देखाउने व्यवहार अकिहितोले देखाए । त्यसैले, जापान जस्तो सँसारको तेस्रो ठूलो अर्थतन्त्र भएको विकसित मुलुकमा आजपर्यन्त राजसंस्था सान्दर्भिक र लोकप्रीय छ ।
Photo Source: WSJ