काठमाडौं ७ कार्तिक । धादिङको धुनीवेशी नगरपालिका–६ नौविसे खत्रीगाउँका सन्तोष खत्रीको घर पहिरो खसेर क्षति पुर्यायो। असार २७ गतेदेखि २ दिन परेको अविरल वर्षापछि आएको पहिरोले घर अगाडिको जग्गा पनि कटान गर्यो। पहिरोको जोखिमका कारण परिवार र घरका सामान सुरक्षित स्थानमा सारे। यसरी उनी विस्थापित हुनुको मुख्य कारण हो, डोजर प्रयोग गरी जथाभावी खनिएका ग्रामिण सडक ।
६ महिनाअघि २२० केभीए विद्युत् प्रशारण लाइन बनाउने बेलामा आवश्यक नभएको ठाउँमा स्थानीय ठेकेदारको ब्यक्तिगत स्वार्थका कारण स्काभेटर प्रयोग गरी सडक खन्ने क्रममा जमिन क्षतविक्षत बनाएपछि आकाशे पानीले नै खत्रीको घर परिवार उठिबास बनाएको हो।
बाटो बनाउने क्रममा नालामा बग्ने पानी आफ्नो जग्गातर्फ कटाइदिएको र बाटो खन्दा माटोले जग्गा पुरिएको भन्दै गल्छी गाउँपालिका–६ का शिवप्रसाद अधिकारीले पालिकामा पटक–पटक गुनासो गरे। उनको गुनासो सुनुवाइ नभएकाले उनी विस्थापित हुन वाध्य भए ।
प्राविधिकको अनुगमन र मुल्यांकन विना ठेकेदार र जनप्रतिनिधिको व्यक्तिगत स्वार्थमा कतिपय बाटो खनिएकाले विवाद र समस्या पनि आइरहेको छ। विकासको नाममा जनताले समस्या र पीडा भोग्नु परेको छ। वातावरणीय असरको मुल्यांकन बजेट छुट्याउने र डोजर चलाउने परिपाटी बढ्दै गएको छ। विकास निर्माणभन्दा बाटो बनाउने काममा डोजरवालाबाट कमिसन लिन पाइने भएकाले पनि व्यक्तिगत स्वार्थमा जनप्रतिनिधिले जथाभावी बाटो बनाउने गरेको स्थानीयको गुनासो छ ।
डोजर देख्दा तर्सिन्छन् गाउँले
मकवानपुरको पश्चिमी बिकट राक्सिराङ गाउँपालिका–७ काङ्बाङस्थित दलबहादुर चेपाङले दुई दिनसम्म घरमाथिबाट सडक खन्न दिएनन्। तर जनप्रतिनिधि र ठेकेदारले घरमाथिबाट सडक खन्दा गाढी आउने र जमिनको मुल्य बढ्ने बताएपछि आफ्नो बारीमा सडक खन्न दिए। तर सोही सडकका कारण २०७६ सालको वर्षामा उनी आफ्नो थातथलो छाड्न बाध्य भए ।
जर्बजस्ती घरमाथिबाट खनिएको सडकले उनी घरबार विहिन बनेका हुन्। पछिल्लो समय ४ पाता जस्ताले छाएको टहरोमा बस्दै आएका उनको ६ जनाको परिवार एक किलोमिटर पर खोरिया बारी कमाउँदै जंगलमा बस्न बाध्य भएका छन्। हिउँदको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भण्डाराबाट करिब चार घण्टाको मोटरयात्रामा पुगिने काङबाङ गाउँमा एक दर्जन परिवार सडकले निम्त्याएको पहिरोको जोखिममा परेका छन् । अन्नपूर्णपोष्टबाट