चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो । तिव्र आर्थिक वृद्धि गरिरहेको चीनले संयुक्त राज्य अमेरिकालाई केही वर्षभित्र उछिनेर विश्वकै नम्बर एक अर्थतन्त्र हुने आँकलन गरिसकिएको छ ।
चीनमा धनीहरु बढ्दैछन् । अर्बपतिहरुको संख्या वर्षेनी बढिरहेका छन् । भौतिक विकासले उचाई हासिल गरिरहेको छ । भौतिक विकास र आर्थिक वृद्धिका बाबजुद किन चिनियाँहरु ज्यान जोखिममा पारेर यूरोप, अमेरिका र क्यानडा जस्ता देशहरु पुगिरहेका छन् ? यो गम्भीर प्रश्न बनेको छ ।
बुधबार बेलायतमा लरी कन्टेनरमा भेटिएको ३९ शव चिनियाँ नागरिकको भएको खुलेसँगै संसारभरका धेरै मानिसहरु आश्चर्यमा परेका छन् । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका कतिपय गरिब देशका जनताले ज्यान जोखिममा पारेर विकसित देश पस्न खोजेको खबर सामान्य हुन्थ्यो । तर, चीनजस्तो विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देशका नागरिक बेलायत पस्न मानव तस्करको हातमा पुगेको खुल्यो ।
बेल्जियम हुँदै बेलायत पसेकामध्ये ३१ पुरुष र आठजना महिला थिए । उनीहरु सबै मृत भेटिए । आफ्नो देश छाडेर किन उनीहरु बेलायत पुग्न ज्यान जोखिममा पारे ?
माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार संसारमा धेरै आप्रवासी बन्ने चौंथो देशमा चीन पर्दछ । झण्डै एक करोड चिनियाँहरु आप्रवासी बनेका छन् । उनीहरुमध्ये सबैभन्दा बढी अमेरिकामा पुगेका छन् । त्यसपछि क्यानडा र अष्ट्रेलियमा आप्रवासी बनेका छन् ।
बेलायतमा मात्र कुल भीसा दिइएकामध्ये सन् २०१८ मा २५ प्रतिशत चिनियाँहरु छन् । यो संख्या अघिल्लो वर्षका तुलनामा बढेको छ ।
रोचक पक्ष यो छ कि चीनबाट यूरोप र अमेरिका प्रवेश गरेकाहरुमा सम्पत्ति भएका र पढेलेखेकाहरु नै छन् । कामको कौशल भएकाहरु नै बढी चीन छाडिरहेको तथ्यांक छ । उनीहरु निकै जटिल र जोखिमयुक्त काम गर्न वाध्य छन् ।
चिनियाँहरु बढी बसाईंसराई गरी यूरोप र अमेरिका जान चाहनुमा असमानता नै मुख्य कारण हो । चीनमा धनी र गरिबबीचको खाडल बढ्दो छ । माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार राजनीतिक, एक सन्तान नीति र विदेशमा पढ्न जाने चाहनाका कारण चीन छाड्नेहरु बढी देखिएका छन् । यसको चाहना लागि उनीहरु मानव तस्कर समूहको हातमा समेत पर्न सक्छन् ।
यसैगरी, बेलायतमा ट्रक कन्टेनरमा मृत फेला परेको ३९ जना शव चिनियाँ नागरिकको भएको खुलेसँगै चीनले उनीहरुको परिचय खोज्न थालेको छ । बेलायतस्थित चिनियाँ राजदूतावासले बेलायती प्रहरीसँग सम्पर्क गरेर जानकारी लिइरहेको उल्लेख छ ।
चिनियाँ विदेशमन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले बेलायतस्थित चिनियाँ राजदूतको विज्ञप्ति उल्लेख गर्दै भनेको छ कि तथ्यपरक रिपोर्टहरुका आधारमा पुष्टिको पहल भइरहेको छ । अनुसन्धानपछि विज्ञप्ति जारी गरिने भनिएको छ ।
यसअघि बेलायतको प्रहरीले शव चिनियाँ नागरिकको भएको पुष्टि गरेको थियो । लण्डन नजिकै एसेक्समा कन्टेनरमा फेला परेकोमा ३८ जना वयष्क र एकजना किशोरावस्थाको शव बुधबार भेटिएको थियो ।
-एजेन्सीको सहयोगमा
Photo Source: Agency