काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उद्घाटन गरेको विद्युतीय बस नै बेवारिसे बनेका छन् । निक्कै तामझामका साथ बिजुली बसको गत वर्ष उद्घाटन गरिए पनि अहिले भने ग्यारेजमा थन्किएर बसेका छन् ।
६ कात्तिक २०७५ मा साझा बसको प्रांगणमा तामझामका साथ ओलीले बिजुली बसको उदघाटन गरेका थिए । ती बस लामो समय त्यतिकै थन्किएर बसेका हुन् ।
लुम्बिनी विकास कोषका लागि भनेर एसियाली विकास बैंकको सहयोगमा आएका ती बस भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउन्जेलसम्म साझा यातायातले काठमाडौंमा चलाउने भन्दै काठमाडौं ल्याइएको थियो । लुम्बिनी विकास कोषले पर्यटकको आवतजावतमा सहजताका लागि उक्त बस ल्याएको थियो । कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । बीवाईडी कम्पनीसँग पर्यटन मन्त्रालयले १० करोडमा पाँचवटा बस किनेको थियो । बिजुलीबाट चल्ने बस वातावरणीय दृष्टिले सुरक्षित र भरपर्दो मानिन्छ । तर, प्रधानमन्त्रीले उदघाटन गरेका बस अहिले कम्पनीमा अलपत्र छन् ।
मापदण्ड र सम्झौताविपरीत पाइएपछि बिजुली बस नक्सालस्थित बीवाईडी कम्पनीको प्रांगणमा थन्किएका हुन् । ती बस काठमाडौंका सडकमा गुड्नेबारे अन्योल छ ।
आजको राजधानी राष्ट्रिय दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।