बेलायत छिर्नकै लागि भियतनामी युवती फाम थी ट्रा माईले ४० लाख नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर तिरेको खुलेको छ । बेलायत छिर्ने क्रममा माईको लरीको कन्टेनरभित्र मृत्यु भएको हुनसक्ने सम्भावना देखिएपछि परिवारले उक्त खुलासा गरेको हो ।
माईको परिवारले ३८ हजार डलर मानव तस्करलाई बुझाएको उनको परिवारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । २६ वर्षीया माई बेलायत छिरिन् तर उनको लरी कन्टेनरभित्र मृत्यु भएको आशंका छ ।
माईसहित अन्य भियतनामी नगारिक पनि मानव तस्करको हातमा पुगेको पुष्टि भएको छ । यसअघि कन्टेनरभित्र निसास्सिएर ज्यान गुमाएका ३९ जना चिनियाँ नागरिक भएको भनिएकोमा भियतनामी समेत भएको पुष्टि भयो । चीन हुँदै बेल्जियम पुर्याएर बेलायत प्रवेश गराउने क्रममा उनीहरुको मृत्यु भएको थियो ।
घटना भएको दिन एकजना भियतनामी युवतीले परिवारलाई मेसेज पठाइन् कि उनी स्वास फेर्न नसक्ने अवस्थामा छिन् । २६ वर्षीया फाम थी ट्रा माईले लेखेको सन्देश परिवारले खुलाएको थियो । सन्देशमा आफू मर्न लागेको र विदेशयात्रा असफल भएको लेखिएको थियो । निकै मार्मिक सन्देश संसारभर भाइरल भएको छ । सन्देश कन्टेनरभित्र निसास्सिइरहेकी माईले आमालाई लेखेकी थिइन् ।
माईको यात्रा ३ अक्टोबरबाट शुरु भएको थियो । उनी चीन पुगेर त्यहाँबाट यूरोपतर्फ लगिएकी थिइन् । २० दिनको यात्रामा उनीहरु बेलायत पुगेपनि अन्तमा ज्यान गुमाउन पुगेका थिए ।
प्रारम्भिक अनुसन्धानले कन्टेरनमा राखिएका ३९ जनाको मृत्यु ठण्डीले भएको हुनसक्ने बताइएको छ । रेफ्रिजेरेटर भएको कन्टेनरमा तापक्रम माइनस २५ डिग्रीभन्दा कमसम्म हुने व्यवस्था थियो । निकै कम तापक्रमका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने द मिररले लेखेको छ । कन्टेनरलाई बेल्जियमबाट बेलायत पुर्याइएको थियो ।
बेलायतको लन्डन नजिकै चेकजाँचका क्रममा बिहिबार ३९ शव बरामद भयो । जसमध्ये एकजना किशोरसहित ३१ पुरुष र आठजना महिला थिए । सबैजना चिनियाँ नागरिक भएको भनिएपनि अन्य देशका नागरिक समेत भेटिएका छन् ।
घटनामा लरी चालक २५ वर्षीय मो रबिन्सन पक्राउ परेका छन् । उनी उत्तरी आइरल्यान्डका हुन् । रबिन्सनसँगको प्रारम्भिक अनुसन्धानपछि थप दुईजनालाई पक्राउ गरिएको छ । घटनापछि मानव तस्करहरुको ठूलो सञ्जाल पत्ता लागेको र धेरै पक्राउ पर्ने सम्भावना देखिएको छ ।
-एजेन्सी
Photo Source: 9News