रुपन्देही,१० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा बिकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सवईन्जिनियर र जे.सि.भी. चालकलाई एकलाख बीस हजार घुस सहित ८ कात्तिकमा नियन्त्रणमा लिएको छ ।
शिक्षा बिकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवल रुपन्देहीमा कार्यरत सव ईन्जिनियर (करार) सन्दिप पौडेल र जे.सि.भी. चालक बिक्रम बस्नेतलाई नियन्त्रणमा लिएको हो । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम बिद्यालयको खातामा निकासा गर्ने सिलसिलामा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको उजुरी आधारमा रङ्गेहात नियन्त्रणमा लिएको हो ।
अख्तियारको कार्यालय बुटवलको टोलीले पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका बस्नेतले उक्त घुस लिइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २, स्थित उजिरसिंह टोलबाट घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।