काठमाडौं १२ कार्तिक । सरकारले सर्वसाधारणको गुनासो सुन्न संचालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन् । हेलाे सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक संजालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १ हजार ८७ वटा गुनासो हेलो सरकारमा आएको जानकारी दिइन् ।
त्यसमध्ये १५६ वटा जनगुनासो मात्रै सम्बोधन गरिएको छ । ३२८ वटा गुनासो भने अध्ययनको प्रक्रियामा रहेका छन् । ती गुनासोहरु सम्बन्धित निकायमा फरवार्ड गरिएको पनि हेलो सरकारकी शाखा अधिकृत आचार्यले बताइन् ।
हेलाे सरकारमा धेरैजसो यातायात क्षेत्रको बेथितिबारे गुनासो आउने गरेको छ । त्यसैगरी विकास, निर्माण र सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याबारे पनि गुनासो आउने गरेको हेला सरकारले जनाएको छ । शाखा अधिकृत आचार्यका अनुसार सार्वजनिक सेवा प्रवाहमा जनताले हैरानी व्यहोर्नु परेको गुनासो पनि धेरै आउने गरेका छन्।