Logo

सर्वोच्चमा भ्रष्टाचार मुद्दा फस्र्योट कछुवा गतिमा: सात वर्षदेखि भ्रष्टाचारको मुद्दा थाती



काठमाडौं १४ कार्तिक । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर थन्किएका छन् । पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको मुद्दा अझै इजलासमा घुमिरहेको छ । अकूत सम्पति आर्जनदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको मुद्दासहित एक दर्जन मुद्दा सर्वोच्चमा विचाराधीन छन् । अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ । अकूत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्का पट्टामा गोलमाल, बैंक घोटालगायत भ्रष्टाचारको मुद्दा फस्र्योट हुन नसकेर थन्किएका छन् ।

प्रधानन्यायाधीशको प्रतिबद्धता कागजमा सीमित
प्र्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउने गरेको प्रतिबद्धता पूरा हुन सकेको छैन । १९ पुसमा पदबहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगित र हेर्न नभ्याउने सूचीको लामो रेकर्ड छ ।

केही समयअघि लागू भएको न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनामा समेत सर्वोच्चले रणनीतिक उद्देश्यहरूमा मुद्दाको शीघ्र फस्र्योट गर्ने, मुद्दा व्यवस्थापन पद्धतिमा सुधार गर्ने, न्यायिक काम कारबाही तथा मुद्दाको फैसलामा गुणस्तरीयता अभिवृद्धि गर्ने जनाए पनि अझै लागू हुन सकेको देखिँदैन । हरेकपटक प्रधानन्यायधीशले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता कागजमा मात्रै सीमित बन्न पुगेको छ ।

विद्याललयको भ्रष्टाचार मुद्दा दुई वर्षदेखि इजलासमा

प्र्र्राथमिक विद्यालयको रकम लिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा खेपिरहेकी नर्बदा भट्टराई, डिल्लीराम भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इसुफ मियाँलाई विपक्षी बनाएर दायर रिट दुई वर्षदेखि अदालतमा अल्झिरहेको छ । सो मुद्दाको पेसी ७ असोजमा तोकिएकोमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश मनोजकुमार शर्माको इजलासमा हेर्न नभ्याउने सूचीमा राखियो ।

त्यस्तै, रौतहटको एक विद्यालयमा ६ लाख ४१ हजार रुपैयाँ सरकारी अनुदान रकम हिनामिना गरेको अभियोगमा चार वर्षअघिदेखि भ्रष्टाचार मुद्दा खेप्दै आएका रामप्रबोध यादव, किशोरी यादव र दिनेशकुमार यादवको मुद्दा चार वर्षदेखि अदालतमा विचाराधीन छ । उनीहरूको मुद्दाको पेसी चढ्दै हेर्न नभ्याउने र स्थगित हुँदै आएको छ ।

विशेष अदालत ऐन, २०५९ को दफा १६ (२) मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदन मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नुपर्ने भनिएको छ । तर, सर्वोच्चले मुद्दाको सुनुवाइ त परेको कुरा मुद्दाका पेसी चढाउनेमा भने रेकर्ड कायम गरेको छ । अदालतमा भ्र्रष्टाचार मुद्दाको सर्वोच्चको चाङ थुप्र्रिएको छ । राजधानीबाट



प्रतिक्रिया दिनुहोस्