राजदुत पराजुली र ओमानी यातायातमन्त्रीबीच भेटवार्ता
काठमाडौं, १५ कात्तिक । ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले ओमानी यातायातमन्त्री डा. अहमद बिन मोहम्मदसँग भेटवार्ता गरेकी छिन् ।
मन्त्रालयमा भएको राजदुत पराजुली र मन्त्री मोहम्मदबीचको भेटवार्ता अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दुतावासले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । उक्त भेटवार्तामा राजदुत पराजुलीले सडक विकास र भौतिक पूर्वाधार विकासको क्षेत्रमा सहयोग आदानप्रदान र अनुभव साटासाटको बारेमा छलफल गरेकी थिईन् ।
राजदुत पराजुलीले मन्त्री मोहम्मदलाई भेटवार्ताका लागि धन्यवाद ज्ञापन गर्दै नेपाल सरकारले पूर्वाधार विकासबारे अघि सारेका योजना र प्राथमिकताको बारेमा प्रकाश पारेका थिईन् । उनले ओमानका सडकहरुको गुणस्तरीयताको बारेमा प्रशंसा गर्दै गुणस्तरीय नियन्त्रण गर्ने संयन्त्रबारे चासो राखेकी थिईन् ।
त्यस्तै, भेटमा मन्त्री मोहम्मदले पूर्वाधार विकासको बारेमा ओमानको अनुभव र रणनीति सुनाएका थिए । राजदुत पराजुलीको आग्रहअनुसार मन्त्री मोहम्मदले प्राविधिक टिमको आदानप्रदानमा सघाउने वाचा गरेका छन् । त्यस्तै, नेपालको भौतिक पूर्वाधार विकासमा ओमानको तर्फबाट जस्तोसुकै सहयोग प्रदान गर्नपनि आफूहरु तयार रहेको उनको भनाई थियो ।