Logo

जङ्गली जनावरले खेतीबाली नष्ट गर्दा कृषक चिन्तित



सोलुखुम्बु, १९ कात्तिक : जङ्गली जनावरले खेतीबाली नष्ट गरेपछि जिल्लाको सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपूर्तिको माग गरेका छन् । साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको अन्नबाली जङ्गली जनवारले नष्ट गरेको भन्दै राहतको मागसहित वडा कार्यालयमा निवेदन दिएका छन् ।

जङ्गलबाट आएका बाँदर, दुम्सी, घोरल र मृगले धान, मकै, कोदो, फापर, केरालगायतका बाली सखाप पारेको कृषक मेगबहादुर राईले गुनासो गरेका छन् । आम्दानीको मुख्य स्रोत नै कृषि भए पनि भित्र्याउनै नपाइ सखाप पारिदिएको भन्दै उनीहरुले वडा कार्यालयमार्फत स्थानीय सरकार र डिभिजन वन कार्यालयले राहतको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । करीब ४० घरधुरी रहेको उक्त क्षेत्रका स्थानीयवासीले दिउँसो अन्नबालीको रेखदेख गरे पनि राति क्षति पु¥याउने गरेको बताउँछन् ।

जङ्गली जनवारको रेखदेख गर्नका लागि बालबालिकासमेत प्रयोग गर्ने गरिएको छ । घरका अन्य सदस्य व्यस्त बन्दा बालबालिकालाई खेतबारीमा लगाउने गर्दा पढाइ नै प्रभावित बनेको स्थानीयवासी मेगबहादुर राईको भनाइ छ । कठिन परिश्रम र मिहेनतका साथ लगाएको खेतीबाली पाक्ने बेलै नभई खान थालेपछि खाद्यान्न सङ्कट हुने चिन्ताले स्थानीयवासीलाई सताउन थालेको छ ।

आम्दानीको स्रोत नभएकाले बिहान–बेलुका छाक टार्नका लागि समेत ज्याला–मजदुरीमा हिँड्नुपर्ने बाध्यता भएको उहाँहरुको गुनासो छ । यस्तै वडा नं १ का वडाध्यक्ष जङ्गबहादुर गुरुङले वडा कार्यालयमा निवेदन आएकाले राहतका लागि गाउँपालिका र वन कार्यालयसँग छलफल गर्ने आश्वासन दिएका छन् । वडाका कृषक जङ्गली जनावरपीडित भएकाले उचित क्षतिपूर्तिका लागि आफू लागिपर्ने उनको भनाइ छ ।

खेतबारी बाँझो हुनेक्रम बढ्यो

पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्रमा जङ्गली जनवारको बिगबिगी बढेसँगै कृषक चिन्तित बनेका छन् भने अधिकांश खेतबारीसमेत बाँझो बन्न थालेको छ । एकतिर युवाशक्ति वैदेशिक रोजगारीमा जानु र अर्कातिर जङ्गली जनवारले खाइदिने गर्दा राज्यको नीतिअनुसार नतिजा आउन नसकेको बताइन्छ । कृषिमा अनुदान दिइने तर बालिनालीमा क्षति पुगेअनुसारको पर्याप्त राहत एवं क्षतिपूर्तिको व्यवस्था नहुँदा कृषकको आकर्षण अन्यत्र जान थालेको स्थानीयवासी हेमबहादुर राईको भनाइ छ ।

यतिबेला धान झुल्ने खेत र कोदो पाक्ने बारी बाँझो हुने क्रम बढेको थुलुङदूधकोशी–८ का कार्यवाहक वडाध्यक्ष तीलबहादुर राईले बताए । वडाभित्र क्रमैसँग जग्गा बाँझो हुने क्रम बढेपछि आधुनिक खेतीतर्फ आकर्षित गर्न अनुदान तथा सामूहिक खेती प्रणाली अपनाएको राईको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्