Logo

अनमोलले किन छोडे “धुपौरे”



युवास्टार अनमोल केसीले चलचित्र “धुपौरे” छोडेको चर्चा चलेको छ । चलचित्रमा अनुबन्ध भएपछि कथावस्तु मन पराएका अभिनेता अनमोलले चलचित्रको स्क्रिप्ट चित्त नबुझेपछि चलचित्र छोडेको जनाइएको छ । स्क्रिप्ट र सुटिङमा जान निर्माण टिमले गरेको हतारोलाई पनि चलचित्र छोड्नुको कारण जनाइएको छ । निर्देशक साम्तेन भुटिया र निर्माता जयन श्रेष्ठलाई अनमोलले चलचित्र छोडेको बारे केही थाहा नभएको जनाउँदै बजारको हल्ला निराधार रहेको दाबी गरेका छन् ।

उनले ५० लाख पारिश्रमिकमा साम्तेन भुटियाको चलचित्र “धुपौरे” साइन गरेका थिए । छायांकन सुरु भएपछि २० लाख दिने सर्तमा फिल्म साइन गर्दा उनलाई निर्माताले साइनिङ एमाउन्ट स्वरुप ३० लाखको चेक दिए । चलचित्र साइन गर्दा निर्देशक र निर्माताले अनमोललाई ७ महिना ट्रेनिङ गराउने सर्त गरेपनि अहिले २ महिनामा नै सुटिङमा जानका लागि दबाब दिन थालेपछि अनमोलले चलचित्रबाट हात झिकेको जनाइएको छ । केही दिनमा उनले निर्मातालाई साइनिङ एमाउन्ट फिर्ता गर्ने पनि जनाइएको छ ।

पछिल्लो चलचित्र “ए मेरो हजुर ३” को सफलतापछि उनी आफ्नै होम प्रोडक्सनको चलचित्र “एन्टी हिरो” को तयारीमा थिए । तर, स्क्रिप्टमा केही समय लाग्ने भएपछि उनले “धुपौरे” साइन गरेका थिए । अहिले उनले यो चलचित्र पनि छोडेको चर्चा चलचित्र वृत्तमा फैलिएको छ । अभिनेता अनमोलले भने यो विषयमा केही आधिकारिक प्रतिक्रिया भने दिएका छैनन् । उनले आफै केही नभनेसम्म चलचित्र बन्ने कि नबन्ने कुरामा पनि अन्योल छ ।File Photo



प्रतिक्रिया दिनुहोस्