Logo

भारत सरकारसँग उच्चस्तरीय वार्ता गरिने



काठमाडौँ, कात्तिक २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले कालापानीको विषयमा सुझाव लिन सङ्घीय संसद्मा रहेका दलहरूका नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विषयविज्ञहरूको सर्वपक्षीय बैठक शनिबार डाकेका थिए । बैठकमा सहभागी अधिकांश नेताहरूले उच्चस्तरको राजनीतिक तथा कूटनीतिक पहलबाट कालापानी समस्याको निकास खोजिनुपर्ने सुझाव राखेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी गराए ।

बैठकमा सबैको सुझाव प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले राखको धारणा उद्धृत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “राष्ट्रिय हितका निम्ति बलियो राष्ट्रिय सहमति आवश्यक हुन्छ, जुन अहिले प्राप्त भएको छ । त्यो सहमतिलाई आधार बनाएर प्रभावकारी ढङ्गले वार्ता गर्नसक्ने सरकार पनि छ । यो राष्ट्रिय एकतालाई आधार बनाएर भारतसँग वार्ता अगाडि बढाउँछौँ ।”

परराष्ट्रमन्त्री ज्ञवालीले बैठकले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्