काठमाडौं, २६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वर्तमान मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आन्तरिक सहमति भैसकेको छ । तर, यो विषयलाई गोप्य राखिएको छ ।
सम्भवतः मंसिर पहिलो साताभित्रै मन्त्रिमण्डल पूनर्गठन गरिसकिने नेकपानिकट उच्च स्रोतले जनाएको छ। बंगलादेशका राष्टपति अहिले नेपाल भ्रमणमा छन् ।
उनको भ्रमण सकिएलगत्तै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालसँग अन्तिम छलफल गरेर सबै मन्त्रीहरुलाई हटाउने भएका छन् । तर, नयाँ बन्ने मन्त्रिमण्डलमा भने जिम्मेवारी हेरफेरसहित पूनः समावेश गराउने ओली र दाहालको तयारी छ ।
उता, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि छिट्टै मन्त्रिमण्डल हेरफेर हुने स्पष्ट पारेका छन् । हिजो बसेको सचिवालय बैठकमा यसबारेमा कुनै छलफल नभएको बताएका प्रवक्ता श्रेष्ठले आज भने यसबारेमा नयाँ खुलासा गरेका छन् ।
पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुली पुगेका उनले अध्यक्षद्धयको बीचमा अहिलेका मन्त्रीहरु हटाउने विषयमा सहमति भैसकेको जानकारी दिए ।उनकाअनुसार सकेसम्म चाँडै मन्त्रीहरुको हेरफेर हुनेछन् ।
मन्त्रीहरु हटाउने तयारी भैसकेको भएपनि अहिलेसम्म यो निर्णय बाहिर नल्याउनुको कारण भने उनले यसरी खुलाए,‘राम्रो काम गर्नेको मनोवलमा निरासापना नआहोस् भनेर सार्वजनिक नगरिएको हो। तर, छिट्टै नै मन्त्रिमण्डल हेरफेर हुन्छ।’