काठमाडौं, ५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई नम्बर प्रदेशका अध्यक्ष प्रभु शाहले मन्त्रिपरिषद पुर्नगठनप्रति असन्तुष्टि जनाएका छन् । उनले योग्यहरुलाई हटाएर अयोग्यलाई मन्त्री बनाएको आरोप समेत लगाएका छन् ।
शाहले फेसबुकमा असन्तुष्टि व्यक्त गर्दै मन्त्रिपरिषद् पुर्नगठन अन्तत गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा भउको आरोप लगाएका छन् । उनले लेखेका छन्- ‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुर्नगठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिष्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । योग्यहरुलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरि एकचोटी लज्जित भएका छौं ।’
यसैगरी, शाहको पोष्टको नेकपा विदेश विभागका सदस्य विष्णु रिजालले आलोचना गरेका छन् । उनले लेनदेनकै आधारमा भन्नु आपत्तिजनक भन्दै अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान दिन जरुरी रहेको बताएका छन् ।