काठमाडौँ, ८ मंसिर । हरेक साताको मंगलबार बेलुकी सान्फ्रान्सिस्को सहरको एउटा गल्लीमा नेपाली खाना पस्केर बाँड्ने र खानेहरूको भीड हुन्छ । पकाएर ल्याएका खाना बाँड्न एउटा जमातले टेन्ट लगाएर तयारी गरिरहेका हुन्छन् । केही छेवैमा मादल बजाउँदै गीत गाइरहेका हुन्छन् । यो सहरमा बस्दै आएका एक मनकारीको अगुवाइमा सुरु गरिएको निःशुल्क खाना बाँड्ने क्रम १३ वर्षदेखि जारी छ ।
‘करी विदआउट वरी’ नामक गैरनाफामूलक संस्थामार्फत खाना बाँड्ने अभियानलाई ‘स्वच्छ खाना भोका आत्माहरूका लागि’ नाम दिइएको छ । यसको अगुवाइ गरेका छन्– श्रवण नेपालीले । उनलाई अन्य चिनेजानेका नेपालीसहित विदेशीले साथ दिएका छन् । परोपकारीको जमात मंगलबार बिहानदेखि सानचेज स्ट्रिटस्थित बेथानी युनाइटेड मेथोडिस्ट चर्चको भान्सामा खाना बनाउँछन् । साँझ ६ बजेदेखि सिमोन बोलिभारको सालिकअघि सिभिस सेन्टरमा बाँड्छन् । खाना खान यो क्षेत्रमा बस्दै आएका घरबारविहीनको लाम लाग्छ । भोकाको भीडलाई खाना वितरण गर्न यो संस्थालाई स्वयंसेवीहरूले सघाउँछन् । खाना बनाउनका लागि चर्चले भान्साघर उपलब्ध गराएको छ ।
खान आउनेले दाल निकै मन पराउँछन् । उमारिएका नौ प्रकारका गेडागुडीको दाल बनाइन्छ । दालसँगै हुन्छ टमाटरको पिरो चट्नी, सुक्खा रोटी र बासमती चामलको भात । काँक्रा, गाँजर लगायतका फलफूल र चिया दिने गरिएको छ । साताको एक साँझ यहाँ आइपुग्नेले पेटभरि खाना सित्तै खान पाउँछन् । जब खाना बाँड्न सुरु हुनु एक घण्टाअघि नै कागजका प्लेट बोकेर मानिसहरू लाम लाग्छन् ।
कान्तिपुर दैनिकबाट