काठमाडौं, ९ मंसिर । देशका विभिन्न क्षेत्रमा हुनगइरहेको उपनिर्वाचनमा केही क्षेत्रमा सुरक्षा थ्रेट रहेको छ । सुरक्षा निकायले सुरक्षा थ्रेट रहेको क्षेत्रको स्तर छुट्याएर निगरानी तथा सुरक्षाफौज बढाएको छ ।
सुरक्षा निकायले सबैभन्दा बढी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा थ्रेट रहेको रिपोर्ट बुझाएका छन् । एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार विप्लवबाट विगतमा जस्तो ठूलो सुरक्षा खतरा भने छैन । विप्लवका धेरै कार्यकर्ता पक्राउ परेका र कतिपयले पार्टी परित्याग गरेकाले कमजोर भएको सुरक्षा निकायको रिपोर्टमा उल्लेख रहेको बुझिएको छ ।
सुरक्षा थ्रेट बढी भएका क्षेत्रमध्ये रोल्पा र बाग्लुङ छन् । त्यहाँ विप्लवको प्रभाव अन्य क्षेत्रको भन्दा बढी रहेको छ । कास्की र भक्तपुरमा खासै सुरक्षा थ्रेट छैन ।
यसैगरी, सरकारले विप्लवप्रति अझै कडा नीति लिने भएको छ । पटक पटक वार्तामा आउन आग्रह गर्दा पनि शक्ति सञ्चयमा लाग्न थालेपछि सरकारले कडा नीति लिएको थियो । सरकारको कडा नीतिका कारण विप्लवका कार्यकर्ता र सञ्जाल छिन्नभिन्न भएको सुरक्षा निकायको दाबी छ । विशेषगरी कुमार पौडेलको इन्काउन्टर र केही विप्लव कार्यकर्तालाई चेतावनी पुगेपछि सक्रियता कमजोर भएको बताइएको छ । File Photo