काडमाडौँ, १० मंसिर । महाबुधामको चारैतिर अग्ला लेक, बीचमा आँखाले नभ्याउने पाटन । पाटन नजिकैको थुम्कोमाथि विशाल ढुङ्गा । ढुङ्गामाथि पूजा आराधनाका लागि शिवलिङ्ग । वर्षामा झमझम पानी पर्ने, एकैछिनमा बादल फाट्ने र ढाकेपछि लेकमै हराएझैँ हुने पाटनमा फुलेका बुकीझारको सौन्दर्यले कठिन उकालो चढेर थाकेका मन प्रफुल्ल हुन्छ । अनि मुखबाट निस्कन्छ, आहा १ क्या राम्रो महाबु । सुन्दर पाटन हेर्ने चाहने र धार्मिक पर्यटकको धरोहरका रूपमा रहेको महाबु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि केन्द्रका रूपमा विकास हुँदै गएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिनमा भव्य मेला लाग्दछ ।
जनैपूर्णिमाको दिनमा मुख्य पूजा गरिने भएकाले यो स्थानमा भगवान शिवको दर्शन गर्न दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलाली, काठमाडौँ र भारतबाट समेत भक्तजन आउँछन् । दैलेख सदरमुकामको दुई दिनको पैदल यात्रा र छ घण्टाको गाडी यात्रापछि महाबु लेकको सौन्दर्यले मन नै प्रफुल्ल हुन्छ । महावुको शिव भगवान्को मन्दिरबाट जुम्ला, कालीकोट, दैलेख, जाजरकोट र बर्दिया, टीकापुर, कैलाली, नेपालगञ्जसम्म झिलिमिली देख्न सकिने त्यहाँ जाने बूढापाका बताउँछन् ।
केही दिनअघि त्रिदेशीय सडकको अवलोकन गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिलामन्त्री प्रकाश ज्वालासहितको टोलीले महाबुको सौन्दर्य देखेर दङ्ग परेको थियो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले कालीकोट र दैलेखको जिल्लाको सङ्गममा रहेको महाबुलाई पर्यटन हबको विकास गर्ने बताए।
पछिल्लो समय जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा महाबु पर्ने गरेको छ । विभिन्न जिल्लाबाट दैलेखलाई कर्मथलो बनाएर बसेका कर्मचारीसमेत महाबु जाने गरेका छन् । केही दिनअघि मात्र महाबु पुग्नुभएकी नेपालगञ्जकी शिल्पा कुँवरले महाबुमा जाँदा छुट्टै प्रकारको आनन्द प्राप्त भएको बताए। कर्णाली प्रदेश सभाका सदस्य अम्बरबहादुर थापाले महाबुमा ठूलो भ्यूटावर निर्माण गर्ने तयारीमा रहेको र भ्यूटावर निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने बताए। उनले संविधान सभाको सदस्य हुँदा निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट महाबु जाने धार्मिक पर्यटकका लागि धर्मशाला निर्माण गरेको र यसपटक भ्यूटावर बनाउने तयारी रहेको बताए। महाबुमा रहेको महाबुधाम गएर आफूले मागेको वर पाउने धार्मिक विश्वासका कारण पनि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक महाबुमा आउने महाबुका पुजारी नगेन्द्र उपाध्यायले बताए ।
गोरखापत्र दैनिकबाट