काठमाडौं,मंसिर ११ । बैंकका कर्मचारी र गिरोहको मिलेमतोमा राजधानीमै फर्जी कागजात बनाएर १९ वटा बैंकको रकम चोरी भएको छ । चोरीमा संलग्न आरोपमा अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका चार कर्मचारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
फर्जी कागजका आधारमा खोलिएका खाता र एटीएम कार्डमार्फत जनता बैंक, एनआईसी एसिया, माछापुच्छ्रे र मुक्तिनाथलगायत १९ वटा बैंकका शाखाबाट पैसा चोरी भएको हो । घटना थाहा भएपछि प्रहरी, राष्ट्र बैंक र रकम चोरिएका एनआईसी एसिया, माछापुच्छ्रे, जनता र मुक्तिनाथलगायत बैंकका प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारीको मंगलबार प्रहरी परिसर टुेकमा आकस्मिक बैठक भएको थियो ।
राष्ट्र बैंक र बैंकरहरूले घटनाको सत्यतथ्य बाहिर ल्याइदिन प्रहरीलाई आग्रह गरेका छन् । सर्भर दुरुपयोग र फर्जी कागज बनाएर रकम चोरिएको भेटिएपछि प्रहरीले सम्बन्धित बैंकहरूबाट खाता, एटीएम र चेकबुक जारी गर्नेसहित विभिन्न तहका कर्मचारीमाथि अनुसन्धान थालेको छ ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान भइरहेको छ । पक्राउ परेका कर्मचारीहरूको विवरण भने अनुसन्धानमा असर पुग्ने भन्दै प्रहरीले गोप्य राखेको छ । प्रहरीका अनुसार यसअघि अन्य बैंकको सिस्टम ह्याक र फर्जी कागज प्रयोग गरेर अनधिकृत रूपमा पैसा झिकिएको भए पनि एकैपटक डेढ दर्जन बैंक गिरोहको निसाना परेको यो पहिलो घटना हो । विभिन्न बैंकबाट गरेर कति रकम चोरी भएको हो भन्ने विवरण प्रहरीले खुलाइसकेको छैन ।
प्रहरीको छानबिनमा परेको जनता र ग्लोबल आईएमई बैंक मर्जरका क्रममा छन् । गत असारमै दुई बैंकबीच मर्जर गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो । प्रहरीले राष्ट्र बैंकसँग अनुसन्धानमा सहयोगको आग्रह गरेको छ । प्रहरीको आग्रहपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र मंगलबार नै महानगरीय प्रहरी परिसर टेकु पुगेर घटनाको जानकारी लिएका छन् । अन्य बैंक सञ्चालक तथा सीईओसँग घटनाबारे छलफल भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घटना पुष्टि गरे पनि अनुसन्धानमा असर पर्ने भन्दै चार बैंकबाहेक अन्यको नाम सार्वजनिक गर्न मानेनन् । ‘प्रारम्भिक अनुसन्धानको टुंगो लागेपछि घटना सार्वजनिक गर्छौं,’ उनले भने ।
जनता बैंकको बानेश्वर र न्युरोड शाखाबाट मात्रै फर्जी कागजबाट बनाइएका चेक र एटीएमबाट १९ लाख ९९ हजार रुपैयाँ झिकेको विवरण फेला परेको उनले बताए । अन्य बैंकबाट चोरिएको तथा फर्जी कागजबारे अनुसन्धान भइरहेको छ । एनआईसी एसिया बैंकको मात्रै करिब सय थान एटीएम कार्ड र विभिन्न बैंकले जारी गरेका सयवटाभन्दा बढी चेकबुक बरामद गरिएको छ ।कान्तीपुर दैनिकबाट