पोखरा,मंसिर १२ । पोखराबाट १४ किलोमिटर टाढा सराङकोटमा अहिले सुविधासम्पन्न सराङकोट माउन्टेन लज तयार भएको छ । केही समयमा पूर्ण रुपमा सञ्चालनमा आउने यो लजमा होटल बाराही समुह अन्तर्गतको लगानी छ । बाराहीले यसअघि लेकसाइड, चितवनको मेघौलीमा होटल सञ्चालन गरिसकेको छ । बाराहीले नै काठमाडौंमा पनि सुविधासम्पन्न होटल निर्माण गरिरहेको छ ।
बाराहीले लगानी गरेको सराङकोटमा केहीसमय अघिसम्म सुविधासम्पन्न होटल थिएनन् । सुविधायुक्त पूर्वाधार अभावमै सूर्योदय र सुर्यास्तको दृष्यावलोकन गर्न र प्याराग्लाइडिङ गर्न उक्लिने बाहेक सराङकोटमा पाहुना अडिएका थिएनन् । तर, अब सराङकोट उक्लेका पाहुनालाई पोखरा फर्किन नपर्ने गरी सुविधा दिलाउन लज बनाएको बाराहीको भनाइ छ ।
सराङकोटको यो लजमा बाराहीसँगै अर्का व्यवसायी नारायण पहारीले पनि लगानी गरेका छन् । त्यही सराङकोटमा अहिले पाँचतारे आकारको अर्को अन्नपूर्ण भ्यू होटल पनि निर्माणाधीन छ । अन्नपूर्ण भ्यू पनि केही समयमा सञ्चालनमा आउने तयारी छ । अन्नपूर्ण भ्युमा जापानी मुलका नेपाली नागरिकले लगानी गरेका छन् ।
समुन्द्री सतहदेखि १६ सय मिटर उचाइमा बनेको सराङकोट माउन्टेन लजमा बसेका पाहुना उत्तरतिर फर्किदा एकै नजरमा अन्नपूर्ण र माछापुच्छे«सहित हिमाली शृंखला अवलोकन गर्न पाउँछन् । त्यस्तै हेम्जाको फाँट र सेती नदी पनि देख्न पाउँछन् । पाहुनाले पोखरातिर नियाल्दा सहर र फेवातालसहितका दृष्य अवलोकन गर्न पाउँछन् । यही सुन्दरता पस्किन लजको सबैभन्दा माथिल्लो तल्लामा ‘स्वीमिङ पुल’ निर्माण गरिएको छ । आजको नागरिक दैनिकबाट