काठमाडौं, मंसिर १३ । सरकारले विभिन्न मुलुकमा रहेका नेपाली दुतावासमा दुई वर्षदेखि नयाँ श्रम सहचारी र काउन्सिलर नियुक्त गरेको छैन। एक पटक नियुक्त कर्मचारीको सामान्यतया २ वर्षको कार्यकाल रहने भए पनि सरकारले नयाँ नियुक्त गर्न नसक्दा चार वर्षभन्दा बढी समयदेखि काम गरिरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई वर्षदेखि श्रम सहचारी र काउन्सिलर नियुक्तिको प्रक्रिया रोकेको हो।
साउदी अरेबियाको रियाद र संयुक्त अरब इमिरेट्सको आवुधावीस्थित नेपाली राजदूतावासमा रहेका काउन्सिलर चार वर्षभन्दा बढी समयदेखि कार्यरत छन्। यस्तै कतारको दोहा र बहराइको मनामाका लागि नयाँ श्रम सहचारी नियुक्त गर्न मन्त्रालयले २०७४ माघ २५ मा सार्वजनिक सूचना निकालेको थियो।
सोही सूचना अनुसार योग्य कर्मचारीले आवेदन दिएका थिए। मन्त्रालयले छनोटका लागि २०७४ चैत १२ मा प्रतिस्पर्धी कर्मचारीलाई प्रस्तुतिकरणका लागि समय तोकेको थियो। प्रस्तुतिकरणको सम्पूर्ण तयारी गरिएकै दिन मन्त्रालयले सचिवस्तरीय निर्णय गरी श्रम सहचारी र काउन्सिलर नियुक्तिको प्रक्रिया रोकेको थियो।नागरिक दैनिकबाट