Logo

चिकित्सकहरुले भने : प्रधानमन्त्री खतरामुक्त, मिर्गौला पून: प्रत्यारोपण गर्दा राम्रो



काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अहिले खतरामुक्त रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले स्पष्ट पारेका छन् । अस्पताल परिसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दैै उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्री अब हिँडडुल गर्नसक्ने अवस्थामा छन् ।

उनले भनिन्,‘उहाँको पाचन प्रणाली पनि ठीक छ । रक्तचाप पनि अहिले सन्तुलित छ । एपेन्डिसाईटिसको शल्यक्रिया गरेकोले संक्रमण भएकोले भित्रै राखिएको छ । उहाँको अवस्थामा सामान्यीकरण हुन अझै एक हप्ता समय लाग्छ ।’ प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार समेत रहेको चिकित्सक डा. अरुण सायमीले त प्रधानमन्त्री नियमित काममा फर्कन अझै दश दिन समय लाग्ने जानकारी दिए ।

डा. शाहले प्रधानमन्त्री अहिले खतरामुक्त रहेको बताउँदै भोलिको अवस्था कस्तो हुन्छ ? भन्नेबारे अहिले नै एकिनका साथ भन्न नसकिने बताईन् । उनले भनिन्,‘उहाँको मिगौलामा समस्या छ । अस्ति र हिजो पनि हामीले हेमोडायलासिस गरियो ।’ आफूहरुले प्रधानमन्त्रीलाई पूनः प्रत्यारोपण गर्दा फाईदा हुन्छ भन्ने सुझाव दिएका पनि उनले सुनाईन् ।

उनले भनिन्,‘छलफल भैरहेको छ । किड्नी पनि फेर्नेबारे छलफल भएको छ । अहिले उहाँलाई देखिएको मेजर डिजिज दुई वटा हो । एउटा मिगौलाको समस्या, अर्को एपेन्डिसाईटिसको शल्यक्रिया गरिएको छ ।’ प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । तस्वीर : रोशन सापकोटा



प्रतिक्रिया दिनुहोस्