अर्घाखाँची, मंसिर १४ । ‘अंकल, गाडी चढ्दिनँ पल्टिन्छ’, तीन वर्षीया एञ्जिला भट्टराईले नरपानी प्रहरी चौकीबाट विदा हुँदै गर्दा प्रहरी सहायक निरीक्षक सूर्यप्रसाद पन्थीलाई भनिन्। उनी अवाक् भए। एकछिन केही बोलेनन्। तैपनि एञ्जिलालाई परिवारको जिम्मा लगाउन गाडी चढाउनै पर्ने बाध्यता उनमा थियो।
अर्घाखाँचीको नरपानी बस दुर्घटना भएपछि पहिलो उद्धार पाइन् उनै एञ्जिलाले। उनलाई पन्थीले नै सडकदेखि सात मिटर तल झाडीमा फेला पारे। तीन महिनाअघि नरपानीमा सरुवा भएर आएका उनी सन्धिखर्क–गोरुसिंगे सडकको घुम्ती कटानमा रोकिएका गाडी व्यवस्थापनमा खटिएका थिए।
बुधबार साँझ ४ बजे बाटो खुल्यो। सँगै रहेका दुई ट्राफिकले सन्धिखर्कबाट गोरुसिंगेतर्फ आउने गाडी व्यवस्थापन गरिरहेका थिए। उनी बुटवलतर्फबाट सन्धिखर्क जाने गाडी पठाउन हिँडे। पन्थीले मोटरसाइकल चलाएर करिब ५ सय मिटरमात्रै के पुगेका थिए, आँखै अगाडि भीरबाट बस खस्यो। ठूलो आवाज आयो। ‘म त बाइक रोकूँ कि के गरुँ भन्ने दोधारमा भएँ, सम्हालिएर माथिल्लो निकायमा खबर पुर्याएँ। सहयोगका लागि आग्रह गरें’, शुक्रबारको घटना विवरण सुनाउँदै उनले भने।
दुर्घटनामा परेको लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो। घुम्ती कटानमा रोकिराखेका बसमध्ये दुई वटामात्रै दुर्घटनास्थल पार गरेका थिए। तेस्रो बस झन्डै तीन सय मिटर तल खस्यो। दुर्घटनालगत्तै पहिलो उद्धारकर्ता पनि उनै पन्थी हुन्। जसले सडकभन्दा केही तल एञ्जिला रोइरहेको सुने। भीरमा डोरीको आडमा पहिलो उद्धार उनकै गरियो। उनी कसकी सन्तान हुन् भन्ने पत्तो थिएन। पछि आमाको नाम बताएपछि पहिचान खुल्यो।
एञ्जिलालाई उनकी आमा सीता भट्टराईले झ्यालबाट फलिदिएकी थिइन्। ‘मलाई मम्मीले झ्यालबाट फालिदिनुभएको हो’, एञ्जिलाले प्रहरीसँग भनेकी थिइन्। सीता भने अहिले पनि उपचारका लागि अस्पतालमा छन्। निर्वाचनको तयारीसमेत चलिरहेकाले इलाका प्रहरी चौकी ठाडामा १० जनामात्रै प्रहरी थिए।
लगत्तै जिल्लाको टोली घटनास्थल पुग्यो। रोकिएका बसका यात्रु पनि उद्धारमा लागे। प्रहरी टोलीले भीर र जंगलको झाडीमा डोरीको सहायताले तल झर्दै गर्दा बीचमा अड्केका घाइतेलाई उद्धार गर्यो। बस तीन सय मिटर तलको सल्लाको बोटमा अडिएको थियो।अन्नपूर्ण पोष्ट दैनिकबाट