धादिङ, मंसिर १४ । कुनै पनि मन्दिरमा पुजारी र भक्तजन जान्छन्, दर्शन–पूजा गर्छन् अनि मूर्ति छोएर पाउ पर्छन्। नेपालका अधिकतर मठ–मन्दिरमा पुगेर भक्तजनहरूले साक्षात रूपमा देवीरदेवताको पूजाआजा र दर्शन गर्न पाउँछन्।
तर धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानकोटस्थित त्रिपुरासुन्दरी भगवती माईको मूर्तिलाई भक्तहरूले न हेर्न पाउँछन् न छुन पाउँछन्। मन्दिरमा रहेकी भगवती माईलाई भक्तजनले त के पुजारीले समेत हेर्न पाउँदैनन्।
त्यहाँ दर्शन गर्न पुगेका श्रद्धालुहरूले परैबाट पूजा–अर्चना गर्नुपर्ने प्रचलन छ। त्यहाँ एउटा बाकसभित्र भगवती देवीको प्रतीक छ भनिन्छ। तर देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन्, न फोटो हेर्न पाउँछन्। तर पूजा गर्ने पुजारीले भने पूजाको दिन लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पु(याउँछन्।
एक वर्षभित्र विभिन्न तीनवटा मन्दिरमा लगेर राख्ने र त्यहीं पूजाआजा गर्ने अनौठो र रोचक परम्परा छ। वर्षमा तीन पटक भगवतीको मूर्तिलाई बोकेर देवी सार्ने परम्परा छ। खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर करिब तीन घण्टाको ओह्रालो तथा अप्ठेरो बाटो हुँदै भगवतीलाई बेंसीको मन्दिरमा ल्याइने परम्परा छ।
पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्न आउँदा उनै भगवतीको पूजाआजा गरी नुवाकोट विजयको कामना गर्दै आशिष मागेको र त्यही बेलादेखि शाह वंशको कुलदेवताको रूपमा मान्दै आएको किंवदन्ती छ।
सोही परम्पराअनुसार सल्यानकोटमा रहेको दुईवटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पूजाआजा गरिन्छ, जुन पृथ्वीनारायण शाहको मामाघरका रूपमा प्रसिद्ध छ। मंसिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोकस्थित बेंसीको मन्दिरमा राखिन्छ, जुन माइत ल्याइएको मानिन्छ । नागरिक दैनिकबाट