Logo

पोथीको खोजिमा १३ हजार किलोमिटरको यात्रा



काठमाडौं, मंसिर १७ । भारतमा एउटा बाघ पाँच महिनाको अवधिमा १३ हजार किलोमिटर हिँडेको छ। हालसम्म भारतमा रेकर्ड गरिएकोमध्ये बाघको यो सबैभन्दा लामो यात्रा रहेको बताइएको छ।

साढे दुई वर्षको उक्त बाघ सिकार, क्षेत्र वा पोथीको खोजीमा भौँतारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ।उक्त बाघ भारतको महाराष्ट्र राज्यस्थित एउटा वन्यजन्तु आरक्षबाट गत जुन महिनामा हिँडेको थियो।

त्यसपछि ऊ खेत, राजमार्ग र छिमेकी राज्यमा हिँडिरहेको पाइएको थियो।शरीरमा जडान गरिएको रेडिओ कलर उपकरणले उपलब्ध गराएको विवरणका आधारमा उसको गतिविधि अध्ययन गरिएको हो।

अहिलेसम्म केवल एकचोटि उक्त बाघको मानिससँग द्वन्द्व भएको बताइएको छ। बाक्लो जङ्गलमा प्रवेश गरेको एउटा समूहको एक व्यक्तिलाई उसले घाइते बनाइदिएको थियो।

महाराष्ट्रको तिपेश्वर अभयारण्यमा सीवन नाम दिएको उक्त बाघ टीवन नामक बघिनीले जन्माएका तीन डमरुमध्ये एक हो।उक्त स्थानमा १० वटा बाघ भएको बताइन्छ।

गत फेब्रुअरी महिनामा सीवनको शरीरमा हिँडडुल अनुगमन गर्ने उपकरण जडान गरिएको थियो। ऊ वर्षा सुरु नहुँदासम्म वनमै घुमिरह्यो।उसलाई जीपीएस स्याटलाइटद्वारा निगरानीमा राखिएको छ र उसको चाल प्रत्येक घण्टा हेरिराखिएको छ। पछिल्लो नौ महिनामा त्यो बाघ पाँच हजारभन्दा बढी ठाउँमा पुगेको पाइएको छ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्