काठमाडौं,मंसिर १९ । मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनमा पनि विगतकै प्रवृत्ति देखियो । ठूला दलहरूकै उम्मेदवार विजय भए भने विकल्पका रूपमा अन्य दल आउन सकेनन् ।
दुई वर्षअघि २०७४ मा भएको तीनवटै तहको चुनावमा नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी राजपा नेपालले पाएको मतको अनुपात लगभग सम्पन्न उपनिर्वाचनमा पनि देखियो ।
दुई वर्षअघिको निर्वाचनाम नेकपा पहिलो, दोस्रो काँग्रेस, तेस्रो राजपा नेपाल र चौथो समाजवादी भएका थिए । अहिले पनि लगभग त्यस्तै देखिएको छ । यिनै दलहरू आफैँमा मतको हिसाबले केही तलमाथि भए पनि अरू कुनै नयाँ दलले उल्लेख्य मत पाउन सकेनन् ।
आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रचार गरेका दलहरूले एउटा पनि सिट जित्न नसक्नुले आउने दिनमा यिनै ठूला दलहरूको वर्चस्व कायम रहने विश्लेषण गर्न थालिएको छ ।
नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर गठन भएको समाजवादी पार्टीले उपचुनावमा आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रचार ग¥यो तर यो उपचुनावमा प्रदेश २ भन्दा बाहिर सफलता पाउन सकेन । सम्पन्न उपनिर्वाचनमा प्रदेश २ का चारवटा वडामा मात्र सीमित रह्यो । जब कि हिमाल, पहाड सबै ठाउँमा सङ्गठन रहेको भन्दै प्रायः ठाउँमा उम्मेदवारी दिएको थियो ।
राजपा नेपाल विगतको चुनावमा पनि प्रदेश २ मा मात्र चुनाव लडेको थियो । उसले यसपटक प्रदेश ५ को कपिलवस्तु जिल्लामा एउटा वडा जितेको छ । समग्रमा राजपा नेपालले पनि तीनवटा सिट मात्र जित्न सक्यो ।
हिन्दुत्वको नारा दिएर देशको वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रचार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी उपनिर्वाचनमा कुनै सिट जित्न सकेन । साझा पार्टीले पनि आफूलाई देशको वैकल्पिक शक्तिका रूपमा प्रचार गरिरहेको छ ।
सामाजिक सञ्जालदेखि युवामाझमा लोकप्रिय पार्टीका रूपमा रहेको साझा पार्टीले पनि कुनै सिट जित्न सकेन । त्यस्तै, मूलधारको राजनीतिमा आएको भनिएको जनमत पार्टीले मधेसमा आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रचार ग¥यो तर एउटा पनि सिट जित्न सकेन ।गोरखापत्र दैनिकबाट