Logo

बिदा नपाउदा सहकर्मीको पाँच हत्या



एजेन्सी, मंसिर २० । भारत छत्तिसगढको नक्सलवादी प्रभावित क्षेत्रमा एक जना सुरक्षाकर्मीले घर जाने बिदा नपाएको झोंकमा ५ सहकर्मीको हत्या गरेका छन् । इन्डो–तिब्बत बोर्डर पुलिस आईटीबीपीका सुरक्षा जवान मसुदुल रहमानले क्याम्पभित्रै अन्धाधुन्ध गोली प्रहार गर्दा ती सुरक्षाकर्मी मारिएको भारतीय समाचार संस्था ‘पीटीआई’ ले जनाएको छ ।

नारायणपुर जिल्लाको कडेनारस्थित आईटीबीपीको ४५ औं बटालियन क्याम्पमा कार्यरत रहमानले एक वर्षदेखि घर बिदा पाएका थिएनन् । क्याम्पमा कार्यरत सहकर्मीको हत्यापछि उनले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । घटनामा तीन सुरक्षाकर्मी घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको बस्तरका आईजी सुन्दरराज पीले बताए । उनले भने, ‘क्याम्पमा जवान मसुदुल रहमानले एकाएक गोली प्रहार गर्न थाले । चार जवानको घटनास्थलमै मृत्यु भयो ।’

पश्चिम बंगाल नदिया घर भएका रहमानले पछिल्लो समय डिसेम्बरको अन्तिम साताबाट बिदाका लागि आवेदन दिएका थिए । क्याम्पका प्रमुखले उनलाई बुधबार नै घर जानका लागि भनेका थिए । उनी भने डिसेम्बर अन्तिम साताबाट बिदामा बस्ने जनाएको सञ्चारमाध्यमले जनाएका छन् । क्याम्पका एक अधिकृतले भने, ‘आवश्यक परेमा थप बिदा स्वीकृत गर्ने आश्वासन दिइएको थियो ।

बुधबार नै गए बीचमा एकपटक आएर फेरि अन्तिम साता बिदा मिलाउन सकिने भनिएको थियो ।’ एक प्रत्यक्षदर्शी सुरक्षा जवानका अनुसार रहमान आफूले मागेअनुसारको बिदा नपाएर निक्कै तनावमा देखिन्थे ।

‘अझ रहमानको बिदालाई लिएर सहकर्मी जवानहरूले खिसी गर्दै हाँसोको पात्र बनाएपछि उनी थप तनावमा थिए,’ उनले भने । तनाव सहन नसकेर रहमानले सर्भिस राइफल एके–४७ बाट क्याम्पमा अन्धाधुन्ध गोली प्रहार गर्दा यो घटना भएको हुन सक्ने क्याम्पका अधिकारीले जनाएका छन् । आजको कान्तीपुर दैनिकले खवर लेखेको छ ।



प्रतिक्रिया दिनुहोस्