काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । उनले देउवाले पछिल्लो समय विभाग थप्न लागेपछि झन् कडा नीति लिएका छन् । उनीसँग काँग्रेसको केन्द्रीय कमिटि बैठकको पूर्व सन्ध्यामा ऋषि धमलाले गरेको कुराकानीः
नेपाली कांग्रेस केन्द्री कमिति बैठक मुख्य एजेन्डा के के हुन् ?
एजेन्डा त सभापतिजी के राख्नुहुन्छ अहिलेसम्म आएको छैन । मुख्य रुपमा गएको उपनिर्वाचनको समिक्षा हुन्छ । त्यसपछि कसरी अगाडि जाने भन्ने रणनीतिक छलफल हुन्छ । अर्को सरकारले जुन रवैया अपनाएको छ । त्यसको सामना गर्न पार्टीले कस्तो रणनीति बनाउने जस्ता विषयमा छलफल हुन्छन् ।
चौधौं महाधिवेशनको पूर्वन्सध्यामा हुँदैगर्दा त्यसको बारेमा छलफल हुँदैन ?
यो बैठकमा हामीले कुरा उठाउँदा चौधौ महाधिवेशनमा कसरी जाने भन्ने बारेमा पनि छलफल हुन्छ ।
तपाईंहरुले जसरी मुद्दा उठान गर्नुपर्ने थियो त्यो त सक्नुभएको छैन ?
मैले चौधौं महाधिवेशनको बारेमा पहिलादेखि भन्दै आएको छु । त्यसमा क्रियाशील सदस्यता कहिलेसम्म टुंगो लगाउने, प्रारम्भिक कमिटी कहिलेसम्म गठन गर्ने ? त्यसपछि स्थानीय, प्रदेश र केन्द्रको अधिवेशन कहिलेसम्म सम्पन्न गर्न सकिन्छ त्यसको बारेमा ब्यापक रुपमा छलफल हुन्छ । आउँदो आम चुनावलाई ध्यानमा राखेर पार्टीको महाधिवेशन टुंग्याइसक्नुपर्छ । त्यसपछि ढुक्क भएर आगामी चुनावतिर केन्द्रित हुनुपर्छ ।
आगामी फागुनमै रेगुलर महाधिवेशन गर्नुपर्ने सक्नुभएन नि ?
मैले त यो कुरा बारम्बार उठाउँदै र भन्दै आएको छु । तर एउटा–एउटा बहाना बनाएर अमल्याउँदै ल्याइयो । यो ढिलाइले पार्टीमा एकदमै संकट बढेको छ । पार्टी बलियो बनाउन गाह्रो भएको पनि यही कारणले हो ।
चौधौं महाधिवेशन २०७७ सालमा मात्रै हुने हो ?
यसमा अब छिट्टै बसेर पहिला क्रियाशील सदस्यता टुंग्याउ । त्यसपछि प्रारम्भिक कमिटि कति समयमा सकिन्छ त्यो गरौं । अनि महाधिवेशन प्रतिनिधिको छनोट कति दिनमा गर्ने हो त्यो पनि एकिन गर्ने । साथै प्रेदेश र केन्द्रको चुनाव कहिले गर्ने हो ? हेरेर हिसाव गरेर केसम्म चाँडो टुंगोमा पुग्नुपर्छ । वैशाखादेखि उता कति थप्दा सकिन्छ त्यो थपेर अधिवेशनमा गइहाल्नुपर्छ ।
सभापति, महामन्त्रीले त महाधिवेशन एक वर्ष सर्नेभयो भन्नुभएको छ नि ?
महामन्त्रीजीको अभिव्यक्ति मैले सुनेको छु । उहाँले गल्ती गर्नुभएको छ । उहाँले कुरा बझ्नुभएन । पार्टीले अहिले सामना गर्नुपर्ने कुरा के छ, त्यसको विचारै नगरिकन शेरबहादुरजीले के चाहनुहुन्छ त्यही भन्दिने ?
एक वर्ष महाधिवेशन सार्नुपर्छ भन्ने पक्षमा तपाई हुनुहुन्न ?
म छैन । वैशाख उता दुई÷तीन बढाउँदा अधिवेशन गर्न सकिन्छ, त्यति नै गर्ने हो ।
स्थानीय र प्रदेशकै अधिवेशन गर्नुसक्नुभएको छैन कसर सक्नुहुन्छ दुई महिनामा ?
क्रियाशील सकिनेबित्ति हामी वडाको चुनाव सकिदिन्छौं । त्यसपछि लगातार भइहाल्छ नि । मुख्यतः सदस्यता टुंगो लगाएपछि धेरै समस्या त हल हुन्छ । सबैभन्दा पहिला नविकरण शुरु गरिहाल्नुपर्छ त्यस सकिएपछि फटाफट हुन्छ । पहिला त नविकरण गरेर पार्टीका क्रियाशील फारमहरु सबै ठाउँमा पुर्याउनुपर्छ ।
पार्टीको क्रियाशील सदस्यता नविकरण कहिलेबाट सुरु हुन्छ ?
२६ गते हुने बैठकको मूख्य एजेन्डा भनेकै सदस्यता नविकरण हो । महाधिवेशनलाई पर धकेल्ने कुरा नेपाली कांग्रेसको सबैभन्दा अहित हुने कुरा हो । यस्तै पार्टीभित्र आन्तरिक खिचातानीमा फस्दै गयौं भने आउने चुनावमा पनि यस्तै लज्जास्पद हार खानुको विकल्प हुँदैन । त्यसैले छिटोछिटो महाधिवेशनतिर लाग्ने हो । अरु काममा भुल्ने कामै छैन । अरु के काम हामी सरकारमा छैनौं हाम्रो काम पार्टी संगठनलाई मजबुद बनाउने आगामी चुनावको तयारी गर्ने हो ।
अहिले विभाग गठन गर्नुपर्दैन ?
म्यादै सकिइसकेपछि किन थप्नुपर्यो ।
सभापतिले मेरो अधिकार हो भन्नुभएको छ नि ?
होइन, अधिकार हो भनेर उहाँले जथाभावी गर्ने हो भने भन्नु केही छैन, नत्र कार्यकालको समय सकिएर महाधिवेशन गर्ने समय थप्ने बेलामा किन विभाग गठन गर्नुपर्यो । पार्टीको हितका काम गर्ने हो भने सभापतिजीले पनि सिरियस भएर सोच्नुपर्छ ।
तपार्इं विभाग गठनको पक्षमा हुनुहुन्न ?
अहिले विभाग गठन गर्नेतिर जानेनै होइन । अब महाधिवेशनको कार्यतालिका बनाएर अगाडि जाने हो । क्रियाशील नविकरण सकेर महाधिवेशनतिर जाने हो । महाधिवेशन आउनुभन्दा एक वर्ष अगाडि प्रारम्भिक कमिटीको चुनाव गर्नुपर्छ भनेको त्यसले हामीलाई कहाँ पुर्याइसक्यो । पार्टी एकदम गम्भीर अप्ठ्यारामा पुगेको छ, त्यसमा ध्यान नदिने ?
विभाग गठनमा ४० प्रतिशत माग्नुभयो रे ?
यहाँ ४०-६० प्रतिशतको कुरै छैन । यहाँ पार्टीलाई कसरी न्यायोचित ढंगले अगाडि बढाने त्यो ठूलो कुरा हो । अब पार्टीका अनेक निहु निकाले र विवाद गर्ने कुरै छैन । तरुण र नेविसंघ दुवै सहमतिले बनाउनुपर्यो । त्यही हो कुरा ।
सभापतिलाई बहुमतकोआधारमा काम गर्ने अवस्था छैन ?
बहुमतले काम गरेर यो दुनियाँमा केही हुँदैन । दुई तिहाई बहुमत ल्याएर त केपी ओलीलाई कति गाह्रो भइराखेको छ । सरकारमा एउटा राष्ट्रिय मुद्दा आउनेबित्तिकै सबै पार्टीको सहमति चाहियो । झन् पार्टीभित्र चल्छ ?
लोकतान्त्रिक पार्टीले मेजुरेटीलाई नमान्ने ?
मेजेरेटीको नाममा पार्टीभित्र द्वन्द्व सिर्जना गरेर पार्टीलाई भुंग्रोमा हाल्ने ? बहुमत छ भन्दैमा पेल्न पाइन्छ ? प्रजातान्त्रिक पार्टीमा ।
लोकतान्त्रिक पार्टीको सभापतिले बहुमतले विभाग गर्न पाउनुपर्छ भनिएको छ नि ?
त्यस्तो अधिकार थियो त दुई महिनाभित्र किन नगरे ? बहुमतकै आधारमा गर्ने भए त दुई महिनाभित्रै गर्ने भनेर विधानले नै भनेको थियो । दुई महिनाको कुरालाई दुई वर्षमा पनि नगरेर आज बहुमत भन्ने ? बहुमत कसरी जस्टीफाइ हुन्छ ? दुई महिनाभित्र गर्ने अहिले आएर कहाँबाट बहुमत जस्टिफाइ हुन्छ ।
एकैदिन नै कि नहोस् मेरो कार्यकालमा विभाग गठन गर्न पाउँनुपर्छ भन्ने छ नि ?
बहुमतको प्रयोग पनि विधानको परिधिमा रहेर गर्नुपर्छ । विधानको परिधि पनि नघाउने र अनि म बहुमतले गर्छु भन्न पाइन्छ ।
सभापतिले बहुमतको आधारमा पेलेर जानुभयो भयो भने के हुन्छ ?
त्यो भयो भने त्यसका परिणाम सभापतिजीले नै भोग्नुहुन्छ । आम कार्यकर्ताबीचमा हामी पनि जान्छौं नि ।
उहाँले पेलेर अगाडि जानुभयो भने कांग्रेसमा दुर्घटना हुन्छ ?
उहाँले जथाभावी गर्नुभयो भने अप्रिय स्थिति आउँछ । मैले समाधानको लागि अहिले साथीहरुलाई लिखित बुँदाहरु दिएको छु । त्यसमा छलफल गरेर टुंगो लगाउनुपर्छ भनेको छु ।
प्रकाशमान सिंहले वार्ताको नेतृत्व गर्नुभएको छ हो ?
ठिकै छ प्रकाशमानजी जानुभएको छ । त्यसैबाट एउटा सहमति खोजिनुपर्छ ।
सहमति भएन भने के गर्नुहुन्छ ?
सहमति भएन भने खुरुक्क अधिवेशनको कार्यतालिका दिएर जाने अधिवेशन जसले जित्छ, जित्छ ।
नेपाली कांग्रेसभित्र अधिवेशनको विकल्प छैन हो ?
हाम्रो पार्टी लोकतान्त्रिक हो, त्यसैले यहाँ अधिवेशनको विकल्प छैन । त्यसैको उर्जाबाट नयाँ सुरुआत हुन्छ । पार्टीभित्र सबै खिचलो बोकेर हिड्नुहुँदैन ।
शेरबहादुरले त पहिलाका सभापतिहरुले समयमा गराउनुभयएन त्यसैले मैले पनि त्यसैगर्नुपर्छ भन्ने छ नि ?
राजनीतिक घटनाक्रमको विशेष परिस्थितिमा थपिएको म्यादलाई अहिले उसले, उसले थप्यो, मैले किन नपाउने त्यस्तो पनि तर्क हुन्छ ।
गिरिजाप्रसादले थप्नुभएको थियो भनिन्छ नि ?
गिरिजाप्रसादले गरेको सबै कुरा शेरबहादुरजीले गर्नुभएको छ ? गिरिजाबाबुले गरेका राम्रा कुराको उहाँले अनुसरण गर्नुभएको छ ? अथवा गिरिजाबाबुबाट भएका गल्तीहरु मान्न उहाँ तयार हुनुहुन्छ ?
अरुले गरेनन् मैले किन गर्ने भन्ने तर्क छ नि ?
हाम्रो पार्टीको आजको आवश्यकता नै महाधिवेशन हो । त्यसकारण त्यो अहिले नगरिनहुने छ । त्यो बेलाको परिस्थिति अर्कोथियो, मुलुकमा संविधान बन्दैथियो । अधिवेशनको चुनौति भन्दा देशले संविधान पाउनेकि नपाउने चुनौति थियो । मुलुकमा यत्रो चुनाव हारिसकेको छ । समयमा महाधिवेशन गरेर पार्टीलाई तन्दुरुस्त बनाउनुप¥यो नि । यत्रो चुनाव हार्दा पनि नचेत्ने ?
शेरबहादुरको पालामा कांग्रेसको उन्नति भयो भन्ने पनि छन् नि ?
के उन्नति भयो ? केही भएको छैन । विधान एउटा बनाएका छौं, त्यही पनि लागुहुन गाह्रो भइराखेको छ । त्यो विधानको कार्यान्वयन गरौं नि ।
सुरुदेखि सशांक कोइराला र रामचन्द्रले मलाई काम गर्न दिनुभएन भन्ने छ नि ?
त्यस्तो दोष लगाएर हुन्छ । उहाँलाई काम गर्न कस्ले रोकेको छ । उहाँले काम गरेको जति पनि समय थियो । त्यो किन गर्नुभएन । केपा ओलीले कांग्रेसले काम गर्न दिएन, भनेजस्तै शेरबहादुरजीको पनि ।
शेरबहादुर र तपाईंबीच मनमुटाब कसरी शुरु भयो ?
कहाँ द्वन्द्व भएको छ, केही पनि भएको छैन । मैले विधानबमोजिम ठिक ढंगले काम गरौं भनेको छु, त्यो द्वन्द्व हो ? पार्टी हो, धेरै साथीहरुले दुःख पाएका छन्, संघर्ष गरेका गरेका छन् । उचित ठाउँमा उचित व्यक्तिलाई राखौं, न्यायोचित निर्णय गरौं त्यही त भनेको छु । अरु सबै कुरामा एकजुट भएर जहाँ पनि हिडेकै छु । उहाँसँगै लागेकै छु । मैले तेरोमेरो भएर पार्टीभित्र अन्याय नहोस् भनेको न हो ।
तपाईं र शेरबहादुर देउवाबीच नीति र नेतृत्वमा पनि विवाद छ ?
खोइ मलाई थाहा छैन । शेरबहादुरजीको नीति के हो आफै जान्नुहोला । नेपाली कांग्रेसको प्रजातान्त्रि समाजवादलाई कसरी कार्यान्वयनमा ल्याउने ? त्यसको माध्यमबाट नेपाली जनतालाई हाम्रो पक्षमा ल्याउने । नेपाली कांग्रेसले ल्याएको कुरा सही हो भनेर कसरी जनताको मनमस्तिष्कमा पार्ने हाम्रो नीति त्यही हुनुपर्छ । एक÷दुई जनालाई तानतुन गरेर न पार्टी चल्छ, न देश चल्छ । हिजो उहाँ सरकारमा हुँँदा पनि मैले व्यक्ति तानेर सरकार नचलाउनुस् भनेर । यस्तो प्रवृत्तिले राजनीतिप्रति नेपाली जनतामा ठूलो निराशा आइसकेको छ । राजनीतिमा लागेका मान्छेको व्यवहार देखिर जनतामा निराशा आइसकेको छ । अहिलेको चुनावमा पनि कम्युनिस्टसँग जनता असन्तुष्ट भए–भए तर हामीसँग सन्तुष्ट त देखिएनन् नि । जहाँको त्यहीं बसिराखे । राम्रो होस् न होस् हिजो जहाँ भोट हालेको त्यही हाल्दिोयो बसिरह्यो । File Photo