Logo

१३औं सागको समापन समारोहमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २५ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को काठमाडौंको दशरथ रंगशालामा हिजो (मंगलबार) भव्य समारोहकाबीच समापन भएको छ। नेपाल र भुटानबीचको पुरुष फुटबलको फाइनल सकिएलगत्तै सागको औपचारिक समापन समारोह सुरु भएको थियो ।

उक्त समारोहमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश प्रवाह गर्नुभएको थियो भने उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले १३‍औं साग समापन भएको घोषणा गरेका थिए।

त्यसअघि सातै देशका खेलाडीहरुले मार्च पास गरेका थिए। नेपालको तर्फबाट पौडीबाट ऐतिहासिक चार पदक जितेकी गौरिका सिंहले झण्डा बोकेकी थिइन्। समापनपछि नेपालले १४औं सागको आयोजनाका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको थियो।

औपचारिक कार्यक्रमपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सांस्कृतिक प्रस्तुती दिएका थिए। यस्तै विद्यार्थीले पनि नेपालका विभिन्न राष्ट्रिय गीतको धुनमा नृत्य प्रस्तुत गरेका थिए।

यस्तै ड्रोनबाट लाइटको साहराले आकासमा नेपालको झण्डा,नक्सा बनाएर पनि देखाइएको छ। जसका लागि आकासमा एकै पटक १५० भन्दा बढी ड्रोन उडाइएको थियो। १० दिनसम्म काठमाडौं, पोखरा र जनकपुरमा २६ खेलमा सार्क राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्