काठमाडौं, २६ मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा बिहीबार देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा यःमरि पुन्हि, कुलपूजा, गैडुपूजा, उधौली तथा १६औं ज्यापू दिवस मनाइँदै छ। विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन्।
धानबाली थन्क्याएर काम सक्ने र नयाँ चामलका विभिन्न परिकार बनाई कुल तथा पितृलाई चढाएर खान सुरु गरिने भएकाले यस दिनलाई धान्यपूर्णिमा भनिएको हो। सो दिन नेवारी समुदायमा नयाँ चामलको पिठोलाई माछाको जस्तो आकार बनाई चाकु, तिल, खुवा आदि राखेर पानीको बाफमा पकाई योमरी तयार पार्ने र कुल तथा पितृलाई चढाएर प्रसादको रूपमा सबैलाई बाँडेर खाने चलन छ। त्यस्तै नेपाल सरकारले घोषणा गरेसँगै २०६१ सालदेखि यसै दिन ज्यापू संस्कृतिको रक्षार्थ ज्यापू दिवस मनाइन्छ। सो अवसरमा नेवारी सभ्यताको झल्को दिने खालका विभिन्न सांस्कृतिक (याली समेत निकाल्ने परम्परा रहिआएको जानकार सञ्जीव महर्जन बताउँछन्।
मंसिरे पूर्णिमालाई प्रकृतिका पूजक किरातहरूले उधौली पर्वका रूपमा मनाउँदै आएका छन्। यसै दिनबाट खोलानदीमा रहेका माछाहरू चिसो बढ्ने भएकाले उँधो जाने र वैशाख पूर्णिमा उँभौलीमा लेकतिर गएका दोपाया–चौपाया मानिस–घरपालुवा जनावर पुनः जाडो सुरु भएसँगै मंसिरे पूर्णिमाका दिनदेखि बेंसीतिर ओरालो लाग्ने भएकाले परम्परागत रूपमा यस पर्वलाई उँधौली पर्व भनेर मनाउन थालिएको पाइन्छ। यस अवसरमा ब्राह्मण, क्षत्रीहरूले गैडुपूजा ९गोठपूजा०, कुलपूजा तथा देवाली गर्ने गर्दछन्। कुलपूजा भनेको कुल परम्पराअनुसार गरिने ख्यातिप्राप्त पुर्खा, कुल तथा स्थानीय देवीदेवताको शास्त्रीय विधि अपनाई निश्चित तिथि वा मितिमा गरिने पूजा हो। देवालीलाई कुलपूजाकै एक अंशका रूपमा लिइन्छ। कुलदेवता, इष्टदेवता वा अन्य देवीदेवताको पूजा उपासनालाई देवाली भनिन्छ। देवाली परम्परागत रूपमा ज्येष्ठ शुक्ल पूर्णिमा र मार्गशीर्ष शुक्ल पूर्णिमा धान्यपूर्णिमा का दिन गर्ने चलन रहेको पाणिनी संस्कृत विद्यालयका प। राजेन्द्र आचार्य बताउँछन्। वर्षमा यी दुई पक्ष मार्गशीर्ष मंसिर शुक्ल र ज्येष्ठ शुक्ल पक्षमा गोठपूजा गर्ने, कुलका धामीलाई दोपाया, चौपायाको रक्षाका लागि कुलदेवता आह्वान गर्न लगाई धूपध्वाँर, नैवेद्य आदिद्वारा खुसी पार्ने र एक वर्ष बिराएर वा दुई वर्ष बिराएर तेस्रो वर्षमा देवाली गर्ने चलन रहेको छ।
देवालीका विधि अनेक छन्। कहीँ बाजागाजासहित कुल देवतालाई डोलीमा राखी कुल पूजास्थलमा लगिन्छ भने कहीँ धामी काम्ने र नाच्ने, कहीँ सामान्य रूपमा मात्र पूजा गर्ने चलन रहेको छ। आआफ्नो परम्पराअनुसार समाजमा कतै शिव, कतै देवी, कतै प्रेतशक्ति, कतै मसानी, कतै भैरव, कतै मष्टा, कतै पिशाचशक्ति र कतै भूतगणको रूपमा देवाली गरिन्छ। त्यसैगरी कुलपूजामा अग्नि, जल, सूर्य, वायु र वनस्पति देवतालाई समेत देवालीको नाममा पूजा गरिन्छ। यस दिन आ–आफ्ना कुलकुटुम्ब तथा बन्धुबान्धवलाई बोलाउने, रमाइलो गरी पूजाआजा गर्ने र पूजापछि विभिन्न प्रकारका मिष्ठान्न प्रसादको रूपमा बाँड्ने चलन छ। कतिपयले भोजभतेर लगाएर सबैलाई खुवाउने गर्छन्। यसरी कुलपूजा गर्नाले आफ्नो कुलवंशको वृद्धि हुनुका साथै उच्च कुलका रूपमा समाजमा स्थापित हुने मान्यता रहेको छ।
नागरिक दैनिकबाट