काठमाडौं, मंसिर २७ । सर्वोच्च अदालतले बहुचर्चित ‘सुडान मिसन भ्रष्टाचार’ को मुद्दामा दोषी ठहरिएका शम्भु भारतीका लागि पुनः सुनुवाइ गर्ने भएको छ। नेपाल प्रहरीका लागि चाहिने बन्दोबस्तीका सामान खरिदमा भएको उक्त भ्रष्टाचार काण्डमा संलग्न भएकाहरूलाई दोषी ठहर गर्दै जरिवानासहित जेलसजायको फैसला सुनाइएको थियो।
दोषी ठहरिनेमध्येका एक ठेकेदार भारतीले सर्वोच्चमा पुनरवलोकनको निवेदन दर्ता गराएका थिए। गत २०७६ भदौ १३ मा पक्राउ परेका उनले पाँच दिनपछि नै भदौ १७ गते मुद्दा पुनरवलोकनको माग गर्दै निवेदन दर्ता गराएका थिए। न्यायाधीशहरू तेजबहादुर केसी, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको पूर्ण इजलासले भारतीलाई बिहीबार पुनरवलोकनको अनुमति दिने आदेश गरेको हो।
थुनामा रहेकै अवस्थामा शम्भु भारतीले मुद्दामा फैसला गरेको नमिलेको भन्दै पुनः सुनुवाइका लागि अनुमति मागेका थिए। उनको मागअनुसार नै सर्वोच्चले अनुमति दिएको हो। २०७३ वैशाख १७ गते प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले तीन पूर्वप्रहरी महानिरीक्षकसहित सातजनालाई जरिवानासहित कैद सजाय सुनाएको थियो।
बाँकी २७ जनालाई विशेष अदालतले दिएको सफाइ सदर गरेको थियो। सर्वोच्चमा २०६९ जेठ २२ गते दर्ता गरिएको मुद्दामा पाँच वर्षपछि विशेष अदालतले गरेको फैसलामा केही उल्टीसहित सजाय सुनाएको थियो।नागरिक दैनिकबाट